
‘मतदाता युवा नेतृत्वको पक्षमा छन्’ : प्रचण्डका प्रतिस्पर्धी मियाँ
गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका अब्दुस मियाँले मतदाताले युवाबाट आशा गरेको बताएका छन् ।
मतदाता भेटघाट र घरदैलो गर्दै निर्वाचन क्षेत्र घुमेका उनले भने ‘युवाहरुले राजनीति शहरबाट गर्ने हो गाउँबाट होईन भन्ने बुझाई जुन छ त्यो गोरखाले परिर्वतन गर्नेछ, मलाई मतदाताले हामी युवा नेतृत्वको पक्षमा छौँ भन्नुभएको छ ।’
गोरखाको बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक लगायत ठाउँमा घरदैलोका क्रममा मतदाता युवा उम्मेदवार पाएर उत्साहित भएको उनले बताए । मतदाताको अपेक्षा धेरै नभएको बताउँदै उनले भने ‘जहिलेपनि नेता आउने ठुला कुरा गर्ने, यो गर्छु त्यो गर्छु भन्ने अन्त्यमा केही नहुने भएर जनता आजित भएका रहेछन् ।’ मतदाताले भोट माग्नकै लागि जे काम गर्न सकिँदैन त्यो बारेमा झुटो आस्वासन नदिन सुझाब दिएको उनले बताए ।
बिकासका सबालमा गोरखा बत्तीमुनिको अध्यारो भएको दावी गर्दै उनले गोरखा देशभर कुनैपनि दृष्टिकोणले उत्कृष्ट हुन नसकेको बताए । देशको उत्कृष्ठ १० स्कुलमध्ये गोरखामा एउटा छैन, उत्कृष्ट अस्पताल मध्येपनि १० भित्र छैन, रोजगारी सिर्जना गर्ने ठुला कम्पनी पनि छैन’ उनले भने ‘कुन आधारले गोरखा अगाडी छ भन्नु ।’ गोरखाको बिकास द्रुत गतिमा गर्नु आजको आवश्यकता रहेको उनले बताए ।
गोरखालाई देशभित्रकै नेतृत्वदायी जिल्ला बनाउन यहाँको सबै पक्षको विकास गर्नु जरुरी रहेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा पत्रकार भेटघाटका क्रममा गोरखा २ मा आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । उक्त विषयमा प्रतिक्रिया दिँदै मियाँले कालो गाडीबाट झरेर मतदातालाई सोध्न प्रचण्डलाई सुझाव दिए । ‘आफ्ना कार्यकर्ताबाट घेरिएर गाडीमा हुँईकिएर प्रतिस्पर्धी चिन्न सकिन्न’, उनले प्रतिउत्तरमा भनेका छन् ।
राष्टिूय स्तरमा गोरखाको प्रतिनिधित्व गरेर देशभमा भ्रष्टाचार निर्मुल पार्ने, प्रशासनिक काममा सुधार गर्ने योजनामा आफु रहेको उनले बताए । उनी गोरखा २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।




