
प्रचण्डले उम्मेदवार दिएकाले मैले पनि उम्मेदवारी दिएको हो : देवकोटा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएकाले आपूmले पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको गणेश देवकोटाले बताएका छन् । गोरखा सदरमुकाममा आईतवार पत्रकार सम्मेलन गर्दै उनले अस्थिरता अन्त्य, विकास र समृद्धिका लागि प्रचण्डका विरुद्ध चुनाव लडेको बताए ।
नेपाली कांग्रेसमा आबद्ध उनलाई गोरखा २ मा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले कारवाही गरेको छ । तर उनले आफु नेपाली कांग्रेसकै कार्यकर्ता रहेको बताएका छन् ।
राजनीतिक सिद्धान्त र बिनाएजेण्ड भएको अपवित्र गठबन्धनप्रति जनता निराश रहेको उनको दावी छ । अहिलेको सत्ता गठबन्धन सत्तामा पुगी प्रधानमन्त्री, मन्त्री बन्न, आफ्ना दल, कार्यकर्ताको संरक्षण गर्न बनेको र यो जनताको हितमा नरहेको उनको भनाई छ ।
अपवित्र गठबन्धन र सिण्डीकेट विरुद्धको राजनैतिक अभियान चलाउन उम्मेदवारी दिएको देवकोटाले जानकारी दिए । सत्ता भागवण्डा, धनको आधारमा राज्यको श्रोत साधनको दोहन गरेर आफु र आफन्तलाई पोस्ने, सत्तामा टिक्न टिकाउन गरिने सम्झौताको राजनीति अन्त गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
२०३८ सालदेखि नेविस आबद्ध हुदै विभिन्न राजनीतिक परिवर्तनमा लागेका उनी अहिले कांग्रेसले कागजी कारवाही गरेपनि केही फरक नपर्ने बताए । प्रजातन्त्र र लोकतन्त्रका लागि निरन्तर लडिरहने र आफुलाई कारवाही गरे कांग्रेसलाई नै घाटा हुने देवकाटा बताउँछन् । प्रचण्डलाई अस्थिरताको संकेत दिँदै गोरखाली जनताले आफुलाई भोट दिएर जिताउनेमा विश्वस्त रहेको उनले दावी गरे ।
सोहि कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार देवकोटाले आफ्नो घोषणपत्र समेत सार्वजनिक गरेका थिए । देवकोटाले दिगो विकास, पारर्दिर्शता, युवा सशक्तिकरण, खाद्य तथा पोषण सुरक्षा, समावेशी र समानता सम्बन्धित कानून र नीति निर्माण र गुणस्तरी शिक्षा र स्वास्थ्य सेवा नागरिकहरुलाई निशुल्क प्रदान गर्ने घोषण पत्रमा समेटिएका छन् । दलभित्र झाँगिदै गएको अराजनैतिक चिन्तन रोक्न, भ्रष्टचार सुशासन दिन, भागबन्डा, परिवारवादको अन्त्य गर्न र अपुर्ण रहेको वर्तमानको संविधान पुरा गर्न आफुले उम्मेदवारी दिएको उनले बताए ।
त्यस्तै, जनताले आफुलाई जिताएर पठाएमा संसदमा राष्ट्रिय मुद्धामा सबैलाई साथ दिने बताए । गोरखा पालुङटार ४ निवासी उनी शिक्षण पेसामा आबद्ध रहेका छन् ।




