| मङ्लबार, कार्तिक २४, २०८३

हेभीवेटले थिचेको गठबन्धनको बन्धन कति कसिलो, कति खुकुलो ?

शिव उप्रेती :

मंसीर ४ आउन अब जम्मा १६ दिन मात्र बाँकी छ । यो अवधिमा धेरै कुरा मिल्न बाँकी छ ।
तेस्रो शक्तिका विरुद्ध दुई शक्ति बाँधिएका हुन् । तर बन्धनभित्रका दुई शक्तिबीच गुजुल्टिएका धेरै असमझदारीका बन्धनहरु खुलाउन बाँकी नै छ । चुनाव प्रचार गर्ने खुल्ला अवधि सुरु भइसक्यो । यसअघि ‘बन्द अवधि’ भित्र आन्तरिक धेरै बन्धनहरु खुलिसक्नु पर्ने थियो, भ्याएनन्, चाहेनन् वा सकेनन् ।

दुर्गम क्षेत्रमा उम्मेद्वार पुगेका छैनन् । उम्मेद्वार मात्र होइन, प्रचार प्रसार गर्ने कार्यकर्ता पनि पुगेका छैनन् । कार्यकर्ता मात्र नपुगेका होइनन्, उनीहरुको तार(सन्देश) पनि पुगेको छैन ।

चुनाव आउन दुई सातामात्र बाँकी रहँदा भोट कसलाई दिने भनेर दुर्गमका बासिन्दा अलमलमा छन् । एकाधबाहेक धेरैलाई गाउँले नेताले भोट हाल्न निर्देशन दिनुपर्छ । अथवा एकाधबाहेक धेरैलाई काठमाडौँ वा गोरखा बजारमा रहेका आफन्त गाउँघर पुगेर भोट हाल्ने चिन्ह चिनाइदिनु पर्छ ।

एकाध मतदाताचाहिँ आफ्नो उम्मेद्वार आफै पहिचान गर्न सक्ने भएका छन् ।
क्षेत्र नं. २ मा हेभी वेटका दुई जना उम्मेद्वार छन् । त्यसैले देशकै ध्यान त्यता छ । जिल्ला नेतृत्व, आम सर्वसाधारणको पनि नहुने कुरै भएन ।

गठबन्धन भित्रको ‘बन्धन’ क्षेत्र नं. २ मा धेरै गुजुल्टिएको छैन । हेभी वेटका कारण सानातिना विवादास्पद बिषय ओझेलमा छन्, प्रभावहीन छन् ।
क्षेत्र नं. २ यसैपनि बिगतदेखि हेभी वेटले चुनाव लडेको, जितेको ठाउँ हो । त्यसैले त्यहाँका मतदाता गठबन्धनप्रति इमान्दार हुन अभ्यस्त छन् । त्यसमाथि पनि भावी प्रधानमन्त्री र भावी मुख्यमन्त्री पाउने उद्घोषले त्यहाँको गठबन्धन मजबुत नै छ । सानातिना असमझदारीले सो क्षेत्रमा खासै प्रभाव पार्दैन ।

विगतको द्वन्द्वबाट प्रत्यक्ष पीडित भएका(एकाघरका सदस्य गुमाएका) र उच्च खानदान भएकाहरु गठबन्धनको ‘ह्वीप’ वा आफूसंवद्ध पार्टीका शीर्ष नेताको ‘ह्वीप’ अटेरी गर्ने सामथ्र्य राख्छन् । तर त्यस्तो संख्या न्यून छ । त्यसले कुनै समस्या पैदा गर्दैन ।
सो क्षेत्रमा निकटत्तम प्रतिस्पर्धी उम्मेद्वारको राजनीतिक उचाइमा धेरै अन्तर भएकाले पनि र गठबन्धनमा रहेका बाहेकका प्रतिस्पर्धी पार्टीले यसअघिका चुनावमा ल्याएको मतान्तर विश्लेषण गर्दा पनि गठबन्धनका उम्मेद्वारले चिन्ता लिनुपर्ने ठाउँ छैन ।
गठबन्धन गुजुल्टिएको क्षेत्र नं. १ मा हो ।
यहाँ यसअघि प्रदेश सभाको चुनावमा भिडेका दुई उम्मेद्वार अहिले प्रतिनिधिसभाको चुनावमा भिडेका छन् । यहाँ कसैको ‘हेवीवेट’ले कसैलाई थिच्ने अवस्था छैन । दुवै उम्मेद्वार आफ्नो पार्टीको केन्द्रसम्म पहुँच राख्ने नेता हुन् ।
यस क्षेत्रमा कांग्रेसले माओवादी चलेन भनेर निधार खुम्च्याइरहेको छ, माओवादीले ‘हाम्रा सबै केन्द्रीय सदस्य परिचालित छन्, बरु ‘कांग्रेसका केन्द्रीय सदस्य खै ?’ भनेर कांग्रेस नचलेको आरोप लगाइरहेका छन् । एउटाले अर्कालाई धोका दिने पो हो कि, भन्ने आशंका आजका मितिसम्म मेटिएको छैन ।

पार्टीको केन्द्रमा गठबन्धनको मर्म र भावना अनुरुप समझदारी बनेको छ । जिल्लास्तरमा पनि असमझदारी बाँकी छैन । पालिकास्तर पनि समझदारीको वातावरण बनेको छ तर वडातहमा, गाउँ र टोल तहमा अझै समझदारी बनेको छैन । अब दुई साता मात्र बाँकी छ । मतदाता तहमा गठबन्धनको मर्म र भावना कहिले प्रवाह हुन्छ ? समस्याको गुजुल्टो यहीँ छ ।
प्रदेश निर्वाचन क्षेत्र १ मा गठबन्धनबाट माओवादीका कृष्ण धिताल उम्मेद्वार छन् । सँधै जिल्ला बसेका उनी बलिया उम्मेद्वार हुन्, तर दशकौँदेखि जिल्लामै राजनीति गरेका प्रतिस्पर्धी एमालेका सुरेन्द्र थापा कम्ति बलिया छैनन् । उम्मेद्वारी दर्ता गर्ने अन्तिम घडीमा मात्र उम्मेद्वार फाइनल भएकाले धितालका बिषयमा आन्तरिक कटुता अझै बाँकी छ । भलै यो कटुताले भोटमा अर्थ राख्दैन ।

प्रदेश निर्वाचन क्षेत्र २ मा भने गठबन्धनका उम्मेद्वार कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको हेवीवेटले थिच्ने सम्भावना बलियो छ । लामो समय राजनीतिमै रहेका र सो क्षेत्रका सबै गाउँघर चाहारेकाले परिणाममा शंका गर्ने ठाउँ रहदैन ।
क्षेत्र नं. २ मा प्रचण्डलाई जसरी पनि जिताउनु छ, त्यसकै माहोलले क्षेत्र नं. १ र दुवै प्रदेश निर्वाचन क्षेत्रलाई लतार्छ भन्ने मोटो विश्लेषण त गर्न सकिन्छ, तथापि प्रतिस्पर्धीको सामथ्र्यलाई नजरअन्दाज गर्न हुदैन । पापड बढि नै बेल्नु पर्छ ।

क्षेत्र नं. १ का कुनै गाउँटोलमा, कुनै तहका कार्यकर्ताबाट अन्तरघातको गन्ध आएमा त्यसको असर सिधै क्षेत्र नं. २ मा चुनाव लडेका प्रचण्ड र देशभर नै पुग्ने भएकाले पनि कसैले हेलचेक्र्याईँ गर्दैनन् भन्ने विश्लेषण छ । गठबन्धन पार्टीका एक नेताले बेइमान गर्ने वित्तिकै त्यसको सन्देश क्षणभरमै देशव्यापी हुनेछ भन्ने त्रास सबैमा छ । किनभने यहाँ गठबन्धन पार्टीमध्य एक पार्टीको केन्द्रीय अध्यक्ष चुनाव लड्दैछन् । त्यसैले गोरखालाई देशभरले नजिकबाट नियाली रहेको हुन्छ । विषय संवेदनशील छ ।

गठबन्धनका उम्मेद्वार कसैको हार भएमा त्यसको अपजसको भारी बोक्नुपर्छ भनेर पनि सम्बन्धित क्षेत्रको जिम्मा लिएका नेतृत्वहरु मिहिन ढंगले लागेकै हुन्छन् ।
गठबन्धन नगरेर एकल एकल चुनावी प्रतिस्पर्धा गरेका बेला पनि टिकट पाउने र नपाउने एउटै पार्टीका उम्मेद्वार र उनका पक्ष विपक्ष बीच धेरै नै कटुता देखिन्छ । तर चुनाव नजिकिएसंगै वातावरण सहज हुदै जान्छ र अन्ततः विवाद समाप्त हुन्छ । यो अभ्यास छोटो हैन, लामै छ ।

गठबन्धन हुँदाका बखत झन धेरै विवाद, टकराव, कटुता पक्कै हुन्छन् । विभिन्न उचाइ र आकारका भड्कावहरु देखिन्छ, तर राजनीतिक चरित्र बोकेका ब्यक्तिहरु परिस्थिति अनुसार राजनीतिक मूलधारमा लतारिँदै जान्छन् । अन्ततः मतदातका बेलासम्म सबै तिक्तता बिर्सिएर मतदान गर्छन् भनिन्छ ।

बुधबार माओवादीले खरिबोटमा काठमाडौँ गोरखा संपर्क समितिको भेला ग¥यो । बिहिबार कांग्रेस, माओवादी दुवैले लैनचौर व्यांक्वेटमा सम्पर्क समितिको भेला गरे । यसले गठबन्धनको सन्देश घरगाउँसम्म बलियो पु¥याएको तर्क गरिन्छ ।
क्षेत्र नं. २ मा कुनै शंका छैन । १ मा गठबन्धनका उम्मेद्वार पराजितै त हुँदैनन् तर जित्न कडा मिहिनेत गर्नु जरुरी छ । सतही प्रचारप्रसार भन्दा मिहिन रुपमा नै लाग्नुपर्ने देखिन्छ ।

सानातिना स्वार्थले विल्कुलै फरक बिचारका बीच गठबन्धन भएको होइन । यसको मुख्य मर्म सत्य निरुपण तथा मेलमिलाप आयोगसंग जोडिएको छ । यी दुई राजनीतिक शक्ति नमिलेसम्म वृहत शान्ति सम्झौता र सत्य निरुपण तथा मेलमिलापको कार्यभार पूरा हुदैन । यही मुल लक्ष्य पूरा गर्न गरिएको गठबन्धनलाई जिताउन दुवै पार्टी कुनै कसर बाँकी नराखी अघि बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्