| मङ्लबार, कार्तिक २४, २०८३

जुवा खेल्नेको निग्रानी गर्दै गोरखा प्रहरी

गोरखा प्रहरीले पछिल्लो समय जुवा तास खेल्नेको निग्रानी बढाएको छ । तिहारको समयमा लाखौँ रुपैयाँ हारजित हुनेगरी जुवा खेल्ने गरेको गुनासो र गोप्य सुचनापछि प्रहरीले निग्रानी बढाएको हो ।

‘तिहारको बेला प्रशासन, प्रहरीको आँखा छलेर जुवा खेल्ने गरेकोहुन सक्छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले भने ‘हामीले सादा पोसाकमा प्रहरी खटाएका छौँ, गोप्य सुचनाका आधारमा निग्रानी गर्ने र पक्राउ गर्ने काम हुन्छ ।’ पक्राउ परेकाहरुलाई मुद्धा दर्ता गरी कारवाही गरिने एसपी खनालले बताए । प्रहरीले कहिँ कतै जुवातास खेल्ने, खेलाउने गरेमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

साथै उनले खबर गर्नेको परिचय गोप्य राखिने हुँदा समाजमा हुने कुनैपनि अपराधिक क्रियाकलापमा संलग्नहरुबारे जानकारी दिन र त्यस्ता घटना हुने शंका लागेमा अग्रिम खबर गर्न भनेको छ । तिहारको समयमा जाँडरक्सी खाने, होहल्ला गर्ने, चाडपर्वको नाममा धेरैजना भेला भएर अस्वभाविक रुपमा जमघट गर्नेहरुलाई पनि कारवाही गर्ने भएको छ ।

‘राती नौबजेपछि देउसी भैलो खेल्न पनि रोक लगाएका छौँ’ एसपी खनालले भने । तोकिएको समय भित्र मात्रै देउसी भैलो खेल्न, पटक, अतासबाजी नपड्काउन पनि प्रहरीले अपिल गरेको छ । अटेर गरी कानुन बिपरितको काम गर्ने, गराउने, उक्साउनेहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्