| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा समावेशीताको हुर्मत : दलित सुन्य, अल्पसंख्यक एक, महिला उम्मेदवार जम्मा तीन

गणतन्त्र नेपालको संविधान २०७२ को धारा ३८(४) ले राज्यका सबै निकायमा महिला, अल्पसंख्यकलगायत लक्षित समुदायलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनू भनेर उल्लेख गरिएको छ । समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने व्यवस्था संविधानले गरेको छ । तर आसन्न निर्वाचनका लागि गोरखाका कुनै पनि ठूला राजनीतिक दलले महिला, दलित, जनजाति, दुर्गमका बासिन्दा तथा अल्पसंख्यकलाई उम्मेद्वार बनाएका छैनन् ।

महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको छ । गोरखाका राजनीतिक दलहरूले ४९ जना उम्मेद्वार उठाएका छन्, तर, आउँदो मंसीर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभामा महिला उम्मेद्वार एकजना मात्र छन् । प्रदेश सभामा दुईजना छन् ।

प्रतिनिधिसभामा क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले लीलाकुमारी बुढाथोकीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. १ को प्रदेशसभा ख मा राप्रपा नेपालले सरिता देवकोटालाई र क्षेत्र नं. २ को प्रदेशसभा क मा मंगोल नेशनल अर्गनाइजेशनले दीपिका गुरुङ बरामलाई उम्मेद्वार बनाएको छ । दलित समुदायका नेतालाई कुनै पार्टीले पनि टिकट दिन विश्वास गरेन । अल्पसंख्यकको प्रतिनिधित्व हुने गरी पिपल्स पार्टीलेबाहेक कुनै पार्टीले पनि उम्मेद्वार बनाएन ।

सरकारले सार्वजनिक गरेको अल्पसंख्यक जातिको सूचीमा शेर्पा, सोनार, घर्ती(भुजेल), कलवार, कुमाल, हजाम(ठाकुर), कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा(तत्वा), खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ, हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार (सन्थाल) लाई समेटेको छ । त्यसैगरी, झाँगड(धागर), बाँतर(सरदार), बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी(भेडियार), नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मु(बरामो), गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर लगायत अल्पसंख्यक जातिको सूचीमा समेटिएका छन् ।

गोरखामा घर्ती(भुजेल), कुमाल, शेर्पा, चेपाङ, माझी, भोटे, ब्रह्मु(बरामो), गाइने र बादीको बसोबास छ । पिपल्स पार्टीले क्षेत्र नं. १ को खबाट रामचन्द्र कुमाललाई टिकट दिएको छ । अरु कुनै पार्टीले अल्पसंख्यक समुदायका नेतालाई उम्मेद्वार बनाएका छैनन् ।

मुस्लिम समुदायका दुई उम्मेद्वार छन् । एमालेले क्षेत्र नं. २ बाट अब्दुश मियाँ र राप्रपा नेपालले क्षेत्र नं. २ प्रदेशसभा ख मा सफिदिन मियाँलाई उम्मेद्वार बनाएको हो ।

जनजातिका भने १२ जना उम्मेद्वारले अवसर पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनले सबै क्षेत्रमा जनजातिलाई नै उम्मेद्वार बनाएको छ । क्षेत्र नं. १ मा जसपाले रुपेश राना, मंगोल नेशनलले देवबहादुर थापा र सुशासन पार्टीले मीनबहादुर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै क्षेत्र नं. २ मा मंगोलले सोमबहादुर गुरुङ र स्वतन्त्रबाट विनोदकुमार गुरुङ उम्मेद्वार बनेका छन् ।

क्षेत्र नं. १ क बाट मंगोलबाट गंगाबहादुर राना, १ को ख मा मंगोलबाटै रामबहादुर लामा, पिपल्स पार्टीबाट रामचन्द्र कुमाल, क्षेत्र नं. २ क बाट एमालेले राजु राना र क्षेत्र नं. २ खबाट वसन्त गुरुङलाई उम्मेदवार बनाएको छ । मंगोलबाट रामबहादुर घलेलाई र स्वतन्त्रबाट बिलबहादुर तामाङ उम्मेद्वार छन् ।

गोरखाको उत्तरतर्फ गुरुङ, घले र भोटेलामा समुदायको बाहुल्यता छ । दक्षिणतर्फ मगर र तामाङ समुदायको बाक्लो बस्ती छ । साना दलहरुले महिला, अल्पसंख्यक, जनजातिलाई उम्मेद्वार बनाए पनि ठूला दलहरुले प्रत्यक्षतर्फ लक्षित समुदायलाई अवसर नदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्