
रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’
नरहरि सापकोटा
मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार दर्ज भएका छन् । गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा गोरखा २ मा पाएको मत हेर्दा चुनाव जित्न असहज देखिन्न तर दाहाल चुनाव जित्न मात्र नभई ‘रेकर्ड ब्रेक’ को ‘रेस’मा छ
गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण, अभिमुखीकरण होस् या गठबन्धन दलको संयुक्त प्रशिक्षण, आन्तरिक भेटघाट सबैमा दाहालले जित्ने मात्र भन्दा पनि ‘रेकर्ड’ बनाउने विषय महत्वपूर्ण भएको बताउँदै आएका छन् ।
गठबन्धन दलले केही दिनअघि गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले भने ‘बलियो हात दिएर पठाउनुभयो भने प्रतिगमन र प्रतिक्रान्तिलाई चिर्न सक्छ । लुलो भयो भने गाह्रो पर्छ । मलाई कति तागत दिनुहुन्छ भन्ने कुराले केन्द्रिय राजनीतिलाई अझै सहज बनाउन र केन्द्रिय स्तरबाट बिकास निर्माणलाई गति दिन सफलता मिल्छ ।’ आफ्नो गोरखा आगमनलाई हल्का रुपमा नलिन उनले अनुरोध गरे ।
२०६४ सालको निर्वाचनमा गोरखा २ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका डाक्टर बाबुराम भट्टराईले ४६ हजार भन्दाबढि मत पाएका थिए । त्यो खसेको मतको ८३ प्रतिशत थियो । २०७० मा गोरखा २ मा माओवादी केन्द्रका नेता हितराज पाण्डे बिजयी बने । त्यतिबेला भट्टराई गोरखा १ बाट चुनाव लडेका थिए । फेरि २०७४ मा भट्टराई गोरखा २ मै फर्किए । कांग्रेससँगको गठबन्धनमा भट्टराईले ३१ हजार आठ सय सात मत ल्याए भने बाम गठबन्धबाट उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए ।
२०६४ सालको निर्वाचनमा गोरखा २ को परिणाम अप्रत्याशित थियो । खसेको मतको ८३ प्रतिशत र प्रतिद्वन्द्वीलाई ४० हजार मतान्तरले भट्टराईले पराजित गरेका थिए । ‘मेरो नाममा यो दुईवटा रेकर्ड छ’ सत्ता गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई गोरखामा सम्वोधन गर्दै भट्टराईले भने ‘अहिले मतदाता पनि बढेका छन् । अध्यक्षज्यू नै चुनाव लडिसकेपछि ८५ अथवा ९० प्रतिशत मतान्तरले जित्न शुभकामना दिन्छु ।’ गोरखा २ बाट रेकर्ड ब्रेक गर्न उनले दाहाललाई ९० प्रतिशतको टार्गेटसहित शुभकामना दिए ।
२०६४ र ७० मा मूख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भयो, २०७४ मा नेपाली कांग्रेससँग सहकार्य गरेर नेकपासँग प्रतिस्पर्धा भएको भन्दै भट्टराईले भने ‘अहिले चौँथो निर्वाचन सुखद भयो, हिजोका प्रतिस्पर्धी संगसँगै छौँ । यस्तो अबस्थामा म भन्दा भाग्मानी र मभन्दा खुसी को हुन सक्छ ।’ दुबै पक्ष सँग प्रतिस्पर्धा गरेको मान्छे दुबै पक्षलाई एकै ठाउँमा राखेर गठबन्धनका सबै उम्मेदवारलाई जिताएर सहकार्यको मोडल बनाउने र देशलाई समृद्धितर्फ लैजाने योजना रहेको उनले सुनाए ।
गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दल बीच गोरखामा तालमेल भएन । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ । सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाए । एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएको देखिन्छ ।
छ गुण भन्दाबढि मत गठबन्धन दलसँग छ । यही आडमा रेकर्ड ब्रेकको योजनामा माओवादी केन्द्रका अध्यक्ष दाहाल छन् । प्रशिक्षणका क्रममा उनले गोरखामा धेरै स्थानीय तह जित्नु पनि आफु यहाँ आउने एउटा आधार बनेको बताए । स्थानीय तहमा उम्मेदवारी नदिएका नयाँ दलहरुले मतान्तरमा भने केही प्रभाव पार्ने देखिन्छ । अहिले दाहालसहित गोरखा २ मा १२ जना बीच प्रतिस्पर्धा हुँदैछ ।
माओवादीका नेता कार्यकर्ता मात्र होईन गठबन्धनमा रहेको कांग्रेसका नेता पनि माओवादी केन्द्रका अध्यक्षलाई रेकर्ड मतका साथ बिजयी गराउने लाग्नुपर्ने बताउँदै आएका छन् । ‘जित त सुनिश्चित छ तर एउटा पार्टीको केन्द्रिय अध्यक्ष आएर चुनाव लड्दै गर्दा जितेर मात्र भएन, नयाँ रेकर्ड बनाउने गरी जित्नुपर्छ हामीले जिताउनुपर्छ, यो हाम्रो लागि अवसर हो’ कांग्रेस केन्द्रिय सदस्य एवं गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेले भने ।
गठबन्धनबाट गोरखा १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले अध्यक्ष दाहाललाई अत्याधिक मतले बिजयी गराएर गोरखामा प्रचण्डको नेतृत्वमा गठबन्धन दलका सबै उम्मेदवारले इतिहास राख्ने बेला आएको बताए । हरेक भेटघाट, छलफल र चुनावी तयारी दाहालले रेकर्ड ब्रेक केन्द्रित गरेका छन् । माओवादी जिल्ला पार्टी पनि दाहालको जित भन्दापनि मतान्तरको हिसाब किताबमा केन्द्रित छ । गठबन्धनका दलहरु संयुक्त चुनावी कार्यक्रम, बैठक र तयारीमा ब्यस्त देखिन्छन् ।
गोरखा २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन् । २८ वर्षका उनी एमालेको राजनीतिमा नयाँ हुन । निरन्तर चुनाव जितेका नेताबाट कुनै परिर्वतन सम्भव नभएको भन्दै आफ्नो जित सुनिश्चित रहेको दावी उनको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट सुशील पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटी पुराना दल र नेता नभई जनताले नयाँ नेतृत्व खोजेकाले आफ्नो पक्षमा परिणाम आउने दावी गर्छन ।
हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका र साना दलको प्रभाव गाउँतहमा कम देखिन्छ । तर यिनले मत काट्दा रेकर्ड ब्रेकमा असहयोग हुने हो कि भन्ने चिन्ता सत्ता गठबन्धनका नेतामा छ ।




