
चुमनुब्रीको नामरुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्न सिफारिस
गोरखाको चुमनुब्री गाउँपालिकाको नाम्रुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्ने निर्णय भएको छ । जिल्ला खाद्य ब्यवस्थापन समिति गोरखाको आईतवार बसेको बैठकले उक्त निर्णय गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाका निमित्त प्रमुख मुनिलाल कुश्वाहाले बताए । जिल्लाले गरेको यो निर्णय खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयले स्विकृत गरेपछि बिक्री केन्द्र संचालन हुनेछ ।
सातवटा वडा रहेको चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा बिकट रहेको, एउटा वडाबाट अर्कोमा पुग्न दुईदेखि तीनदिन लाग्ने भएकाले खाद्यान्न बिक्री केन्द्र आवस्यक परेको गाउँपालिकाले जनाएको छ । ‘ गाउँपालिका भित्र दुई प्रतिशत मात्रै खेतियोग्य जमिन छ, जिल्लाको झण्डै आधा क्षेत्रफल (१६४९ वर्ग किलोमिटर) ओगटेको छ’ गाउँपालिका अध्यक्ष निमा लामाले भने ‘यहाँका मानिसले सँधै खाद्य संकट भोग्नुपरेको छ ।’
चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा कम्पनीको डिपो छ । तर उक्त डिपोबाट सबै वडाका सर्वसाधारणले सहज रुपमा खाद्यान्न खरिद र उपभोग गर्न नपाएको लामाले बताए । गाउँपालिकाले गोरखा स्थित खाद्य कम्पनीलाई पत्राचार गर्दै वडा नम्बर १,२,४,५ का लागि वडा नम्बर ४ को गाप वा नामरुङ र ६, ७ को लागि वडा नम्बर ६ को चुम्लिङमा बिक्री केन्द्र राख्न अनुरोध गरेको थियो ।
‘गाउँपालिकाको अनुरोध अनुसार आईतवारको बैठकले नामरुङ र चुम्लिङमा बिक्री केन्द्र राख्ने निर्णय गरेर सिफारिसका लागि केन्द्रिय कार्यालय पठाउने भएको छ’ कम्पनीको गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिव सुनारले भने । चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । खच्चडबाट खाद्यान्न ढुवानी हुने त्यहाँ अहिले पैदल हिड्ने, खच्चड हिड्ने बाटो समेत नहुँदा खाद्यान्न अभाव हुन थालेको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।
उत्तरी गोरखामा खाद्यान्न सहज बनाउन बिक्री केन्द्र राख्ने निर्णय र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘पहिले खाद्यान्न अभाव हुँदा हेलिकप्टरबाटपनि लगेका थियौँ, सँधै त्यो संभव नहुन सक्छ, त्यसैले बिक्री केन्द्र राख्दा स्थानीयलाई सहज हुन्छ’ प्रअिज आचार्यले भने ।
अहिले प्रस्ताब गरिएको बिक्री केन्द्रलाई स्थायी डिपो कार्यालयमा रुपान्तरण गरिदिनपनि जिल्ला खाद्य ब्यवस्थापन समितिको बैठकले सिफारिस गरेको छ । अहिले धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्रीको सिर्दिबासमा कम्पनीको डिपो छ । डिपो र गोरखा स्थित कार्यालयबाट खाद्यान्न बिक्री बितरण हुँदै आएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा प्रजिअ आचार्य, राजनीतिक दलका प्रतिनिधि, उद्योग बाणिज्य संघ, गाउँपालिकाका प्रतिनिधि लगायतको उपस्थिती थियो ।




