
चिनकाङसाङ फर्किआएँ भन्दै रोए प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गोरखामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रोएका छन् । जीवनको उत्तरार्धतिर जसरी माओत्सेतुङ चिनकाङसाङ फर्केका थिए, त्यसै गरी नयाँ आन्दोलनको संकल्पका लागि उम्मेद्वार बनेर गोरखा फर्केको भन्दै उनी रोएका हुन् ।
‘माओवादी पार्टीमा विभिन्न खालका समस्याहरु, देशमा पनि विभिन्न खालका समस्याहरु पैदा भएपछि चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले भनेका कुरा मलाई सम्झना आइराख्यो’, प्रशिक्षणको सुरु गर्दै उनले भने, ‘माओले पार्टीका समस्या, सरकारका समस्या, देशका समस्या, चारैतिरको घेराबन्दी, रुससित महाविवाद, उता साम्राज्यवादसंगको घेराबन्दी, यो सबैलाई तोड्नुपर्ने आवश्यकताको बीचमा उहाँले के भन्नु भएको र गर्नुभएको थियो भने, (रुँदै) यस्तो परिस्थितिमा उहाँ चिनकाङसाङ जानुभयो । (घुँक्कघुँक्क रुँदै) चिनकाङसाङ, जहाँ जनयुद्धको तयारी गर्नु भएको थियो, जहाँबाट छापामार युद्धको सुरु भएको थियो, त्यहाँ जानुभयो र भन्नुभयो, ‘म फेरि चिनकाङसाङ आएँ ।’
(हिक्का छाड्दै) जनवादी क्रान्ति भयो, समाजवादी क्रान्ति अघि बढिराखेकै थियो । तर पार्टीभित्रका समस्याहरु, दुश्मनका घेराबन्दी सबैबाट पार पाउन फेरि एक पटक चिनकाङसाङ आएँ भन्नुभएको थियो । (रुँदैरुँदै) ४० बर्षपछि म पनि फेरि गोरखा फर्की आएको छु ।’
आफ्नो युवावय गोरखामा बितेको र युद्धको थालनी पनि गोरखाबाटै भएको इतिहास उनले खोतले । ‘म यहाँ(आरुघाटमा) अध्यापन गर्दा झण्डै २२ बर्षको थिएँ । झण्डै ४० बर्षपछि भने पनि हुन्छ, जतिबेला भूमिगत रुपमा पार्टी हेडक्वाटर चलाएको पनि थिएँ । पहिलो सैन्यतालिम, पहिलो फौजी तालिम लिँदैगर्दा, आजभन्दा झण्डै ४०, ४१ बर्षअघिको कुरा हो । माओत्सेतुङ चिनकाङसाङ जाने कुरा गरेको, २०२८ सालमा चिनकाङसाङ विद्रोह भयो, चिनकाङसाङमा छापामार युद्ध सुरु भयो । त्यसपछि २०६६, २०६७ सालतिर फेरि चिनकाङसाङ गएर नयाँ क्रान्ति आवश्यक छ र त्यो नयाँ क्रान्तिका लागि शक्ति, नयाँ उर्जा प्राप्त गर्ने संकल्प गरेको कुरा सम्झिराखेको छु’, उनले भने ।
चिनियाँ युद्धको थालनी चिनकाङसाङबाट भएको भन्दै उनले माओवादी युद्धको थालनी गोरखाको सिरानचोक र धुवाकोटबाट भएको प्रसंग उल्लेख गरे । ‘गोरखा, त्यही चिनकाङसाङ हो । या पार्टीको पहिलो हेडक्वाटर जहाँ राखियो, धुवाँकोटका खोपबहादुर कँडेलको घर(फेरि रुँदै), उहाँ अहिले पनि यहीँ हुनुहुन्छ । त्यतिबेला पञ्चायतै थियो । हामीले बन्दूक, पेस्तोल, बम लुकिछिपि, कहिले ओढारमा, कहिले घरमा राखेर नयाँ पार्टी बनाउने, नयाँ क्रान्ति गर्ने नयाँ संकल्प गरियो, प्रण गरियो ।’
माओेत्सेतुङ चिनकाङसाङ फर्केको र आफू गोरखा फर्केको समयावधि झण्डैझण्डै ४० बर्ष नै रहेको उनको भनाइ थियो । ‘बिगत ४० बर्षमा धेरै चिज भए । युद्ध भए, शान्ति सम्झौता भए, संविधान सभा भयो, लोकतान्त्र भयो, गणतन्त्र स्थापना भयो । विभिन्न उत्पीडित वर्ग, जाति, लिंग, धर्म, क्षेत्रका पहिचान र अधिकारका क्षेत्रमा धेरै कुरा प्राप्त भए’, उनले भने, ‘तैपनि हामीलाई चाहिए जस्तो पार्टी अहिले हामीसँग छैन । हामी सबै धेरथोर, संसदवादको संसर्गमा मैलाधैला भएका छौँ । र पार्टी, उत्पीडित जनताको, दलितको, भूमिहिन, श्रमजीविहरुको, मुक्तिको नेतृत्व गर्ने जस्तो अहिले छैन । कताकता अरु संसदवादीहरु जस्तो हुने हो कि भन्ने खतरा बढिरहेको छ ।’
गोरखा फर्केर नयाँ समाजवादी आन्दोलन र संवृद्धिको क्रान्ति थाल्ने प्रण गर्ने उनको भनाइ छ । ‘यही अबस्थामा म फेरि चिनकाङसाङ फर्केको छु । फेरि एउटा राजनीतिक क्रान्ति, फेरि एउटा नयाँ अभियान, नयाँ रुपान्तरणका लागि गोरखा फर्केको छु । त्यही थलो, जहाँबाट इतिहासमा सामन्ती र केन्द्रीकृत राज्य स्थापना भएको थियो । सापेक्षतामा त्यो त्यतिबेलाको खाँचो थियो भन्ने त मैले युद्ध सुरु गर्ने बेलाको दस्तावेजमा लेखेको पनि छु’, उनले भने ।
नयाँ अहिंसात्मक आन्दोलन सुरु गर्ने बारे हालै सम्पन्न महाविधेशनले अनुमोदन गरेको उनको भनाइ छ । ‘हामीले महान जनयुद्ध र जनआन्दोलन पनि गोरखाबाट सुरु ग¥यौँ । आठौँ महाधिवेशनसम्म आइपुग्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्ययन गरी नयाँ आन्दोलनको आवश्यकता पहिचान गरेका छौँ’, उनले भने, ‘तर अहिले हामी जहाँ छौं, त्यहाँबाट आवश्यकता पूरा गर्न सक्दैनौँ । किनभने हाम्रो अहिलेका रुपान्तरण सकारात्मकतिर भन्दा नकारात्मकतातिर दिनप्रतिदिन बढ्दै गइरहेको छ । यो परिस्थितिमा फेरि एकचोटी, विचार, सिद्धान्त र कार्यशैलीको सुदृढिकरण कहाँबाट सुरु गर्ने त भनेर म फेरि गोरखा फर्की आएको छु ।’




