
उत्तरी गोरखाका बालबालिकालाई दशैं विदामा घर फर्कन मुस्किल
गोरखा र तिब्बतको सीमानामा पर्ने अन्तिम गाउँ ‘निले’का मिङ्ग्यूर दोर्जे दशैँ विदा भएपछि छोराछोरी लिन भनेर काठमाडौँ गए । तर सहर जाँदा हिँडेको बाटो छोराछोरी लिएर फर्कन उनलाई मन लागेन ।
‘हाम्रो चुमभ्याली जाने बाटो यति जोखिम छ कि, यस्तो बाटो छोराछोरी लिएर हिड्न सकिन्न भनेर म पनि उनीहरुसित काठमाडौँमै बसेर दशैँ मनाउने भएँ’, उनी भन्छन्, ‘छोराछोरी घर नगएका धेरै भएको थियो । यसपालिको दशैँ विदा घरमा बिताउने रहर त्यतिकै भयो ।’
चुमनुब्री ६ लोक्पामा डुयुखोला र सर्दीभीरको बीचमा आठसय मिटर फराकिलो पहिरो गएपछि गत असारदेखि आवतजावत ठप्प छ ।
‘कि धोर्जुङडाँडाबाट घुमेर जानुप¥यो । धोर्जुङडाँडा घुम्दा दुई दिन बढि हिड्नुपर्छ । जाँदा दुईदिन, फर्कदा दुई दिन गरेर चार दिन यसै बित्छ’, उनी भन्छन्, ‘बाटोमा बास बस्नु पर्छ । गाउँबस्ती छैन । जंगलमा बस्नुपर्छ । केटाकेटी लिएर यस्तो जोखिम पनि उठाउन सकिएन ।’ लोक्पा पहिरोले जनजीवन धेरै कष्टकर भएको उनको भनाइ छ ।
गोरखा सदरमुकामको एक नीजि विद्यालयमा कक्षा १० मा पढ्ने चुमनुब्री ७ छेकम्पारकी आङ्मो छिरिङ र उनका आठ कक्षामा पढ्ने छिरिङ लामा पनि यो दशैँमा घर जान सकेनन् । ‘हाम्रो गाउँ त कति दुर्गम छ है ?’, गाउँ जाने बाटो सम्झँदै उनी भन्छिन्, ‘सबै ठाउँ विकास हुँदै गएको छ, तर हाम्रो गाउँपालिकामा अहिलेसम्म पनि मोटर पुगेको छैन । मोटरबाटो त गएन, मान्छे हिड्ने बाटो पनि यस्तो खतरा छ । जहिले गाउँ जाँदा पनि पातमा ज्यान राखेर हिड्नु पर्छ ।’
चुमनुब्री गाउँपालिकाको साविकको सामागाउँ, प्रोक, बिही, चुम्चेत र छेकम्पार गाविसहरुमा माध्यमिक तहका विद्यालय छैनन् । यहाँका करिब दुईहजार घरधुरीका बालबालिका पढ्नका लागि राजधानी काठमाडौँ, सदरमुकाम गोरखा तथा भारतका विभिन्न ठाउँमा पुग्ने गर्छन् ।
चुमनुब्री ३ जगतकी कीर्ति घले, कृपा घलेचाहिँ जोखिम मोलेर भनेपनि दशैं विदा मनाउन घर गए । बुढीगण्डकी किनारको बाटो अति जोखिम मलेर घर फर्केको उनीहरुको भनाइ छ । ‘माथिबाट पनि पहिरो झरिरहने रहेछ । तल पनि पहिरो गइरहने रहेछ । हामी त भगवान भरोसा भनेर हिडेको हो’, कृति भन्छिन्, ‘बाबाले पहिरोमा लठ्ठीले खोतलेर पैताला मात्र अट्ने डोब बनाइदिनुभयो । लड्यो भने रोक्ने, छेक्ने ठाउँ नि छैन । निस्किने ठाउँ नि छैन, सिधै बूढीगण्डकीमा खसिने रहेछ ।’ आफ्नो गाउँ जाने बाटो साह्रै जोखिम रहेकोमा उनले चिन्ता व्यक्त गरिन् । घर नआएको सात, आठ बर्षभन्दा धेरै भएकाले जोखिम मलेर पनि घरमा आएको उनको भनाइ छ ।
पोखरामा पढ्ने चुमनुब्री ३ फिलिमकी १३ बर्षीय अस्मिता र उनका भाइ १० बर्षका जोशीराम पनि दशैँ विदामा जोखिम मलेर घर फर्के । लामो, लामो पहिरो छिचोल्दै घर फर्कँदा पहिरोमा पुरिने हो कि भन्ने डरले अत्याउने उनीहरु बताउँछन् । ‘पहिरै पहिरो छ, डर लाग्छ’, अस्मिता भन्छिन्, ‘अलिअलि मान्छे भेटिन्छन् । उनीहरु पनि हिडेका छन् भनेर आँट निकालेर हिँडेको हो ।’
सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिकामा पैदल हिँड्ने बाटो पनि सुरक्षित नभएको स्थानीयबासी गुनासो गर्छन् । बर्खाका बेला जताततै पहिरो जाने र हिउँदका बेला पनि सुख्खा पहिरो जाने हुँदा सँधै असुरक्षित यात्रा गर्न बाध्य भएको जगतका वीरबल घले बताउँछन् ।
लोक्पा पहिरोका कारण खच्चड हिँडाउन नसकेपछि चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ (साविक चुम्चेत र छेकम्पार गाविस) का बासिन्दा खाद्यान्न अभाव झेल्नुपर्ने भयो भन्दै चिन्तामा छन् ।



‘लोक्पाको पहिरो धेरै समस्याग्रस्त छ । यसले गर्दा असारदेखि नै मान्छे हिँडडुल गर्न, खाद्यान्न ढुवानी ठप्प छ’, गाउँपालिकाका अध्यक्ष निमा लामा भन्छन्, ‘पहिरो पन्छ्याएर बाटो खुलाउन धेरै पटक मर्मत ग¥यौँ । तर जति पटक पन्छ्याए पनि पहिरोले लगिहाल्छ । अब खाद्यान्न ढुवानी गर्न ढिलो भयो भने छेकम्पार र चुम्चेतका करिब छ सय घरधुरीलाई खाद्यान्न संकट हुन पनि सक्छ ।’ पहिरो धेरै ठूलो भएकाले लरोतरो तबरले बाटो खुलाउन हुन नसक्ने भन्दै उनले हेलिकोप्टरबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाइदिन सरकारलाई अनुरोध गर्ने बताए ।





