
बाबुरामले भने : गोरखामा देखिने गरी बिकास भएन
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखामा देखिनेगरी विकास हुन नसकेको बताएका छन् । जिल्ला आएका बेला कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने र यहाँको बिकास निर्माण, सरकारी योजनाको कार्यान्वय, समस्याका बारेमा बुझ्ने क्रममा उनले मंगलवार पनि भेटघाट गरेका थिए ।
भेटघाटका क्रममा कार्यालय प्रमुखहरुको कुरा सुनिसकेपछि उनले भने, ‘बिकास त केही न केही भएको छ तर देखिने गरी भएको छैन । जनताले बिकासको अनुभूति गर्न पाएका छैनन् ।’ आफूले सुरु गरेको मध्यपहाडी लोकमार्ग र बारपाक सडकको काम प्रभावकारी रुपमा हुन नसकेकोप्रति उनले दुख व्यक्त गरे । ‘मध्यपहाडी सडकमा काम नहुँदा आधा घण्टाको बाटो पार गर्न दुई घण्टा घुमेर पालुङटार पुग्नुपर्छ’, उनले भने, ‘जनताले प्रक्रिया होईन परीणाम खोजिरहेका छन् ।’ चाडबाडमा आउजाउ गर्नेहरुले सडक सहज नहुँदा सास्ती भोग्नु परेको उनले बताए । गोरखा बारपाक सडक खण्ड पनि लामो समयदेखि कालोपत्रे हुन नसकेकोप्रति उनले कार्यालयलाई गम्भीर हुन अनुरोध गरे ।
‘दुईवटा प्याकेजको काम राम्रोसँग भएको छैन, त्यहाँ के गडबड भएको हो’, उनले भने, ‘निर्माण ब्यवशायीले ठेक्का लिने र काम नगर्ने प्रवृत्ति पनि छ, त्यसले जनताले दुःख पाए ।’ बिकासको पहिलो आधार सडक भएकाले सम्बन्धित विकासे कार्यालयले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कुन्दुरटार पालुङटार सिंचाई आयोजनामा काम नभएको बताउँदै उनले २० वर्षदेखिको कुन्दुरटार आयोजना अहिलेसम्म संचालन नहुनु दुःखद भएको बताए । ‘पालुङटारमा पनि सोचे अनुसार काम हुन सकेको छैन’, उनले भने ।
टुक्रे योजनामा बजेट बिनियोजन भएको कार्यालय प्रमुखहरुको गुनासोपछि उनले पहुँचका आधारमा साना योजना रातो किताबमा राख्ने परिपाटीले कार्यान्वयनमा समेत समस्या भएको बताए । साना योजना पालिका, मझौला खालका प्रदेश र ठूला योजना संघले गर्नुपर्ने कार्यालय प्रमुखको भनाइमा उनले समर्थन जनाए ।
बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा मुआब्जा वितरण भएको, कम्पनी मोडलमा बनाउने निर्णय भएको तर अझै गुनासो आइरहेकाले विषेश ध्यान दिन आयोजनालाई उनले अनुरोध गरे । ‘जनताका केही गुनासा अझै छन् त्यसलाई विशेष ख्याल गर्नुहोला’, उनले भने । नापजाँच गर्न छुटेका, भाडाका जग्गामा बसेकाले संरचनाको मुआब्जा नपाएको गुनासो आएको उनले बताए । सरकारी कार्यालयहरुलाई काम गर्दा सहजिकरण गर्न र समस्या हल गर्ने गरी अघि बढ्न उनले अनुरोध गरे ।
विकास निर्माणका क्रममा वन क्षेत्रको अनुमति लिने प्रक्रिया झन्झटिलो र लामो रहेकाले त्यसलाई कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उत्तरी गोरखाको छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने प्रक्रिया ढिलो भएकाले सहजिकरण गरिदिन अनुरोध गरे । साथै उनले शन्ति सुरक्षा कायम गराउन खटिने प्रहरी जोखिम मोलेर टहरोमा बस्नुपरेको, दुर्गममा प्रहरी चौकी नभएकाले स्तरीय चौकी निर्माण आवश्यक रहेको बताए ।
कार्यक्रममा गोरखास्थित बिभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।




