| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु हिम पहिरोमा परेका सबैको उद्धार

मनास्लु हिमपहिरोमा परी घाईते भएका सबैको उद्धार गरिएको छ । मृतक सतोरी एड्भेञ्चर एण्ड एक्पिडिशनमा कार्यरत संखुवासभाका ३४ वर्षिय अनुप राईको शव पनि काठमाण्डौँ लगिएको छ ।

सोमबार जितबहादुर शेर्पा र सुकुबहादुर तामाङलाई र मंगलवार किनु पेम्वालाई घटनास्थलमा सकुशल फेला पारी उद्धार गरी ३ नंबर क्याम्पमा ल्याई राखिएको, फुरिता शेर्पा निमा शेर्पा, सिमा भन्ने निमा दोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ र मोहनसिंह तामाङलाइ हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको एसपी खनालले जानकारी दिए ।

दुई जनाको अबस्था सामान्य रहेकाले घटनास्थल तेस्रो शिविरबाट हिँडेर आधार शिविरमा आएर बसेका छन् ।
‘शव तेस्रो शिविरबाट हेलिकप्टरमा सामागाउँ ल्याई मुचुल्का गरेर पोष्टमार्टमकालागि शिक्षण अस्पताल काठमाण्डौँ पठाइएको छ’, एसपी केदार खनालले भने ।

मौसम प्रतिकुल हुँदा गएराती तेस्रो शिविरमै राखिएका १० जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याइएको एसपी केदार खनालले बताए ।

प्रहरीका अनुसार गौरीशंकर गाउँपालिका ५ का ४४ बर्षका जितबहादुर शेर्पा बोल्न सक्ने, होशमा रहेका छन् । उनको करुणा हस्पिटल कपन काठमाडौंमा उपचार भइरहेको छ । मकालु गाउँपालिका १ संखुवासभाका २७ बर्षका सुकुबहादुर तामाङ पनि बोल्न सक्ने अबस्थामा छन् । उनको अनुहार सुनिएको छ । उनको पनि करुणा हस्पिटल कपनमा उपचार भईरहेको छ । त्यस्तै सोलुखुम्वुकै ३५ बर्षीय किनु पेम्वा सकुसल रहेका छन् । उनी आधार शिविरमै छन् ।

संखुवासभाकै २९ बर्षका फुरिता शेर्पाको हेम्स हस्पिटल धुम्बाराहीमा, संखुवासभाकै २७ बर्षका निमा शेर्पाको पनि हेम्स हस्पिटलमै सोही ठाउँकै ४० बर्षका सिमा भनिने निमादोर्जे शेर्पाको करुणा हस्पिटल कपनमा उपचार भईरहेको एसपी खनालले जानकारी दिए ।
संखुवासभाकै २५ बर्षका दावा शेर्पा, दोलखाका ४० बर्षका फुरिता शेर्पा, दोलखाकै ३७ बर्षका लाक्पा तामाङ र संखुवासभाका २६ बर्षका मोहनसिह तामाङको करुणा हस्पिटलमा उपचार भइरहेको छ ।

उद्धारका लागि सिम्रिक एयर, हेली एभरेस्ट र कैलाश एयरका तीन हेलिकोप्टरहरु परिचालन गरिएको थियो ।
सोमबार दिउसो १२ बजे हिमपहिरो जाँदा मनास्लु आरोहीका लागि आत्यावश्यकीय सामग्री ओसार्दै गरेका १३ जना सहयोगीहरु पुरिएका थिए । उनीहरुमध्य एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते छन् ।

मनास्लु आरोहण गर्न यो सिजनमा पर्यटन विभागबाट ४०४ जना विदेशी आरोहीले अनुमति लिएका छन् । विदेशी आरोही र नेपाली सहयोगी गरी एकहजार जना भन्दा धेरै अहिले मनास्लुका विभिन्न शिविरमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्