
लक्ष्मी बजार अनुगमन : अधिकांश पसलमा मूल्य सूचि भेटिएन
मंगलबार गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रका बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांशको पसलमा मूल्य सूची भेटिएन । ब्यवशायीले सामग्री विक्री गर्दा पसलमा ग्राहकले देख्ने गरी सबै सामग्रीको मूल्यसूची राख्नुपर्ने प्रावधान भएपनि अधिकांशले मूल्य सूची नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको नेतृत्वमा मंगलबार भएको बजार अनुगमनको क्रममा मूल्य सूचि नभेटिएको हो । टोलीले किराना, खाद्यान्न, पुस्तक पसल, मासु पसल, सुनचाँदी पसल, वर्कसप, खाजाघर लगायतका गरी २३ भन्दा बढी पसलको अनुगमन गरेको थियो । तीमध्य सबैजसो पसलमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नगरेको, साइनबोर्ड नराखिएको पाएको थियो । उनीहरुलाई तीन दिनभित्रका मूल्यसूची र साइनबोर्ड राख्नका साथै व्यवसाय दर्ता गर्न र नवीकरण नगरेकालाई नवीकरण गर्न निर्देशन दिएको जिल्लास्तरीय बजार अनुगमनको संयोजक सुर्य भुजेलले बताए ।
उनका अनुसार धेरै पसलमा व्यवसायले सामान खरिद गर्दा भ्याद वा प्यान बिलमा नलिने गरेको र सामान विक्री वितरण गर्दा पनि भ्याट वा प्यान बिल जारी नगर्ने गरेको भेटिएको थियो । बजार अनुगमनको क्रममा खाद्य, मसला, चाउचाउ, पेय पदार्थ गरी करिब १० हजार बराबरको सामग्री नष्ट गरिएको छ ।
ब्यवशाय संचालन गर्दा दर्ता गरी नियमित रुपमा नविकरण गर्नुपर्ने, म्याद गुज्र्रिएका सामग्री बेच्न नहुने र त्यस्ता सामग्री समयमै नष्ट गर्नुपर्छ भन्ने सचेतना अनुगमनपछि बढ्दै गएको कार्यालय प्रमुख भुजेलले बताए । बजार अनुगमनले आर्थिक कारोबारहरु सबै करको दायरामा आउनुका सााथै नागरिकले स्वस्थ्य खाद्य सामग्री उपभोग गर्नपाउने उनको भनाइ छ । बजार अनुगमनको क्रममा हरेक व्यवसायमा भएका कमीकमजोरीहरुलाई तत्काल सच्याउन लिखित रुपमा पत्र काट्दै अर्को पटक बजार अनुगमनको क्रममा पनि सोहि गल्ती दोहोरिएको खण्डमा कानुनमा भए अनुसार कारवाही हुने कार्यालय प्रमुख भुजेलले बताए ।
घरेलु कार्यालयका प्रमुख भूजेलको नेतृत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, गोरखा नगरपालिका, उद्योग वाणिज्य संंघ, पत्रकार महासंघ, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।




