| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका १५ जना गणतन्त्र दिवसमा विभुषित हुने

गोरखाका १५ जना विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर आउँदो गणतन्त्र दिवसका दिनमा बिभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरिएको हो ।

सिरानचोक ८ स्थायी घर भएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर सुनीलबाबु श्रेष्ठ, पालुङटार नगरपालिका नम्बर ५ स्थायी घर भई राजधानीमा संगीतकर्ममा रहेका प्रसिद्ध संगीतकार आलोकश्री (सूर्य कुमारी खाती)लाई र शहिलखन गाउँपालिका– ९ धुसेनी स्थायी घर भएका प्रदेश सचिव कृष्णप्रसाद काप्रीलाई ‘सुप्रबल जनसेवा श्री’ पदकबाट विभूषित गर्ने गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेललाई पनि मरणोपरान्त सुप्रबल जनसेवा श्री पदकले विभूषित गर्ने निर्णय भएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

त्यस्तै किर्तिमानी हिमाल आरोही आरुघाट गाउँपालिका –९ आरुटारकी पुर्णिमा श्रेष्ठ र सहिदलखन गाउँपालिका ९ माझिटारका वरिष्ठ कृषि अर्थविज्ञ लालकुमार श्रेष्ठलाईलाई ‘प्रबल जनसेवा श्री’ पदकले सम्मान गरिने मन्त्रालयबाट जारी सूचनामा उल्लेख छ ।
काप्री हाल सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सचिवमा कार्यरत छन् भने श्रेष्ठ हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिहंदरबार काठमाडौमा कार्यरत छन् ।

‘सगरमाथा पदक’बाट धार्चे गाउँपालिका–४ लाप्राकका पर्वतारोही तथा उद्धारकर्ता तुलसिंङ गुरुङ सम्मानित हुने भएका छन् । चुमनुब्री गाउँपालिका–७ की पर्वतारोही÷समाजसेवी फुन्जो झाङमु लामालाई ‘जनसेवा श्री’ पदक प्रदान गरिने भएको छ ।

आरुघाट गाउँपालिका–८ का समाजसेवी प्रेम कुमार खत्रीलाई ‘जनसेवा श्री’ पदकले सम्मान गरिने भएको छ । यस्तै, र सोहि पालिका वडा नम्बर ८ का अटो व्यवसायी मिलनबाबु मल्ललाई ‘जनसेवाश्री’ पदकले सम्मान गरिने भएको छ ।

सिरानचोक गाउँपालिका–८ का चित्रकार चिरञ्जीवी भट्ट, अजिरकोट गाउँपालिकाका फेसन डिजाईनर राधा सापकोटा(ढकाल) र शहिद लखन गाउँपालिका–६ का समाजसेवी ऋषिराम ढकाल तीनै जनालाई जनसेवाश्री पदकले सम्मान गर्न लागेका हुन् ।

चुमनुब्री ७ छेकम्पारका वाङ्चुक राप्तेन लामा र ङुटुप ग्याल्जेन लामालाई ‘समाजसेवा रत्न’ पदकले सम्मान गरिने भएको गृहमन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्