| बुधबार, कार्तिक २५, २०८३

छेकम्पारकी याङ्जेनलाई हेलिकोप्टरभित्रै पुत्रलाभ !


गोरखाको आखिरी गाउँ निलेकी ३४ बर्षकी याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन् । आठदिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान ग्याम्जोले आइतबार चारबजे नेपाली सेनाको हेलिकोप्टर झिकाए ।


साँढे चारबजेतिर उनलाई हेलिकोप्टरले काठमाडौँ पु¥यायो । संयोगवश उनलाई बोकेको हेलिकोप्टर एयरपोर्टमा ल्याण्ड हुनु र उनले छोरा जन्माउनु एकैसाथ भयो । हेलिकोप्टरभित्रै पुत्रलाभ भएपछि ग्याम्जोले याङ्जेनकी आमाछोरालाई थापाथलीस्थित प्रसुतीगृहमा पु¥याएका छन् ।
‘अहिले बच्चा र आमाको स्वास्थ्य राम्रो छ’, ग्याम्जोले भने ।


यसअघि याङ्जेनको चारवटा सन्तान थिए । एकजनाको मृत्यू भइसकेको छ ।


सोही हेलिकोप्टरमा चुमनुब्री गाउँपालिका ७ बुर्जीकी अर्की २८ बर्षकी गर्भवती धेजेन साङ्मोको पनि उद्धार गरिएको छ । ‘सुत्केरी हुन केही दिन बाँकी थियो । त्यतिबेला असजिलो पनि हुनसक्छ भनेर त्यही हेलिकोप्टरमा हालेर लगियो’, पूर्व वडाअध्यक्ष पासाङ फुञ्जो लामाले भने ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टर खर्च जुटाएर उनीहरुको उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।


तिब्बती सीमानामा रहेको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । यहाँका गम्भीर बिरामी, घाइते तथा सुत्केरी बेथा लागेकाहरु उपचारका लागि महंगो भाडा तिरेर हेलिकोप्टरबाट उद्धार गर्ने गरिन्छ । सो पालिका निषेधित क्षेत्रअन्तर्गत रहेकाले हेलिकोप्टर उडाउन अनुमति लिने झञ्झट छ । प्रक्रिया पु¥याउँदा पु¥याउँदै ढिला हुँदा कतिपय घाइते, बिरामी तथा सुत्केरी बेथाले थलिएकाहरुको मृत्यूसमेत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्