| बुधबार, कार्तिक २५, २०८३

कांग्रेस गोरखाद्वारा अग्रजसँग अन्तरक्रिया

नेपाली कांग्रेस गोरखाले अग्रज नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला कार्य समितिको आयोजनामा बुधवार संगठन सुदृढिकरण सम्बन्धि अग्रज नेतृत्वहरुसँग सुझाब मागिनुका साथै भावी योजनाका बारेमा छलफल गरिएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।


कार्यक्रममा पार्टीको बिभिन्न तहमा, भातृ तथा सुभेच्छुक संस्थामा बसेर काम गरिसकेका अग्रजहरुले सुझाब दिएका थिए । उनीहरुले कांग्रेस भित्र एक अर्को नेताबिचको मित्रता, सहकार्य बढाउनुपर्ने, घात अन्तरघातको अन्त्य हुनुपर्ने, सबैबिच सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए । गाउँगाउँमा निरन्तर जनताको समस्यामा सहयोगी बन्नुपर्ने, पैसाले टिकट लिने प्रवृत्तीको अन्त्य हुनुपर्ने, कांग्रेसको नीति, सिद्धान्तलाई निरन्तर गाउँगाउँमा अभिमुखिकरण गराउनुपर्नेमा अग्रहजहरुले जोड दिए ।


सबैबिच समधुर सम्बन्ध कायम गर्दै जनताको समस्यामा सँधै साथ दिने, सामाजिक मुद्धामा नेतृत्व गर्ने सर्वमान्य नेता हुनुपर्ने, कार्यकर्ताको भावना बुझ्ने हुनुपर्ने अग्रहरुको सुझाब थियो । पदमा लोभिन नहुने, नेतृत्वमा पुगेकाहरुले कार्यकर्ताको मनोभावना बुझ्नुपर्ने, जनमुखी काम गर्नुपर्ने सहभागीले बताए ।


कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अग्रहरुको सुझाबलाई ध्यान दिएर पार्टी अघि बढ्नुपर्नेमा जोड दिए । ‘यस्तै सुझाब र मार्गदर्शनले पार्टीलाई अघि बढ्न प्रेरित गर्छ’ उनले भने ‘सबै क्षेत्र, तह तप्काबाट रचनात्मक र सहयोगी भुमिका हुनुपर्छ ।’


जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल सतार, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारी, पूर्व पदाधिकारी लगायतको उपस्थिती थियो ।

स्थानीय निर्वाचनको समिक्षा र आसन्न निर्वाचनमा खेल्नुपर्ने भुमिका र कामका बारेमा पनि सहभागीले धारणा राखेका जिल्ला सचिव कृष्ण आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्