| बुधबार, कार्तिक २५, २०८३

‘मतदाताको सुरक्षामा विषेश ख्याल गरेका छौ“ : प्रजिअ आचार्य

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुरक्षा संवेदनशिलतामा प्रशासनले विशेष ख्याल गरेको बताएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न, मतदातालाई निर्धक्क भएर केन्द्र सम्म मतदानका लागि जाने बातावरण तयार गर्न प्रशासनले योजना बनाएको उनले बताए ।


‘हामीले सुरक्षा योजना बनाएर अघि बढेका छौँ, सोही अनुसार सुरक्षाकर्मी खटिएका छन्’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ‘नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली सबै ठाउँमा परिचालन गरेका छौँ, ढुक्क भएर मतदान गर्न सक्नुहुन्छ ।’
सुरक्षको दृष्टिकोणले संवेदनशील ठाउँमा सेना र शसस्त्र प्रहरीको टुकडी पनि राखिएको छ । नेपाल प्रहरी सबै मतदान केन्द्रमा खटिनेछ भने सेना र शसस्त्र प्रहरीले गाडीमा घुम्ती गस्ती गर्ने प्रजिअ आचार्यले बताए ।


संवेदनशील, अति संवेदनशील समान्य गरी तीन सय ११ मतदान केन्द्रलाई बिभाजन गरिएको छ । ६७ केन्द्र अति संवेदनशिल, एक सय ३७ केन्द्र संवेदनशिल, १० वटा केन्द्रलाई समान्यमा बर्गिकरण गरिएको छ । गोरखा नगरपालिका, शहीदलखन र गण्डकी गाउँपालिका भित्रका मतदान केन्द्रमध्ये १० वटा समान्य छन् । अन्य सबै केन्द्र संवेदनशील र अति संवेदनशील भित्र रहेका छन् ।


भौगोलिक बनावट, बिगतका निर्वाचनमा घटेका घटना, पाँच वर्षको अवधीमा दलहरुले गरेका गतिविधिलाई आधार बनाएर मतदान केन्द्र बर्गिकरण गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए ।


केही छिटपुट घटना बाहेक अहिलेसम्म गोरखामा स्थानीय तह निर्वाचनको अवस्था समान्य रहेको उनले बताए । बैशाख १९ गते जिल्लामा क्रियाशील राजनीतिक दलका नेता, संघ संस्था सबैलाई बोलाएर आचारसंहिता पालन गर्नेमा प्रतिवद्धता गराइएको उनले बताए । ‘शान्ति सुरक्षा कायम गर्न बेलुकी ९ः३० बजे बजार बन्द गर्ने, बैशाख २७ देखि जेठ ५ सम्म मदिरा पसल बन्द गर्नुपर्ने, बिक्री बितरण र सेवनमा रोक लगाएका छौँ’ प्रजिअ आचार्यले भने ‘शान्ति सुरक्षाका लागि यो गरिएको हो ।’


अहिले सम्म जिल्लाको अवस्था सन्तोषजनक रहेको बताउँदै उनले केही ठाउँमा भएको घटनाको अनुसन्धान भईरहेको बताए ।
‘दुर्गम क्षेत्रमा पनि तल्लो भेगमा जस्तै गरी सुरक्षाकर्मी परिचालन गरिएको छ’ प्रजिअ आचार्यले भने ‘कहिँकतै कुनै घटना भएमा नजिकको प्रहरी वा प्रशासनमा जानकारी दिन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्