
गोरखाका ३ मतदान केन्द्रमा एक सय भन्दा कम मतदाता
गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन् । सोही वडाको क्वाक गुम्बा मतदात केन्द्रमा ९९ जनाको नामावली रहेको छ ।
चुमनुब्री गाउँपालिका १ साम्दो आधारभुत विद्यालय साम्दोमा ९८ जना मतदाता छन् । दुर्गम भेग भएकाले यहाँ मतदाता संख्या कम रहेको हो ।
तीन सय ११ मतदान केन्द्रमध्ये सबैभन्दा कम मतदाता रहेको केन्द्र यी हुन् । चुमनुब्री गाउँपालिका ४ को हिमचुली आधारभूत विद्यालयमा एकसय पाँच जना छन् भने वडा नम्बर ३ को वौद्धहिमाली आधारभूत विद्यालय न्याकमा एक सय ३७ मतदाता छन् ।
चुमनुब्री तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको दुर्गम पालिका हो । यहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । यहाँ पालिकाभर जम्मा पाँच हजार एक सय दुई मतदाता छन् । पालिकाको वडा नम्बर ५ मा चार सय ४२, वडा नम्बर १ मा चार सय ४५ र वडा नम्बर ४ मा चार सय ६८ मतदाता छन् ।
यस अघिका चुनावमा पनि कम मतदाता संख्या रहेका ती केन्द्रमा १२ बजेभन्दा अगाडि नै मतदान सकिन्थ्यो । सबैभन्दा धेरै मतदाता गण्डकी गाउँपालिकाको भद्रकाली मावि हटिया केन्द्रमा एक हजार ७१ जना एउटै केन्द्रमा छन् ।
गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३५ हजार ३१, पालुङटारमा ३२ हजार पाँच सय ९६ मतदाता छन् भने अन्यमा २५ हजार भन्दा कम छन् ।




