| बुधबार, कार्तिक २५, २०८३

मतदान गर्न ३ घण्टा पैदल धाउनुपर्ने

चुमनुब्री गाउँपालिका २ हिनाङका ७० बर्षकी सोनाम ल्हामोलाई मतदान गर्न तीनघण्टा हिड्नुपर्छ । वृद्धवृद्धाहरुको मात्र बसोबास रहेको हिनाङमा मतदानकेन्द्र नहुँदा यहाँका करिब २० घरका मतदाता भोट हाल्न ल्हो पुग्नुपर्ने बाध्यता छ ।


सोही वडाको स्यालामा करिब एकसय घरधुरी छ । यहाँका बासिन्दा पनि मतदान गर्न एक घण्टा हिँडेर ल्हो पुग्नुपर्ने बाध्यता रहेको स्थानीय छिरिङ धार्के बताउँछन् ।


ल्हो मात्र होइन, चुमनुब्री गाउँपालिका नै सडक सञ्जालले जोडिएको छैन, त्यसैले मतदाता दिनभरिको काम माया मारेर दुई, तीन घण्टा पैदल हिँडी भोट हाल्न जानुपर्ने बताउँछन् । ‘स्यो, ल्ही, ङिन, भर्जमका मतदाताले स्यो केन्द्रमा भोट हाल्छन्’, छिरिङ धार्चे भन्छन्, ‘भर्जमका करिब २० घरका बासिन्दा भोट हाल्नकै लागि डेढघण्टा हिँड्नुपर्छ । ङिनका ३० घरका बासिन्दा मतदान गर्न एकघण्टा पैदल धाउनु पर्छ । ल्हीका करिब ६० घरका मतदाता पनि मतदानकेन्द्रमा पुग्न एकघण्टा कस्सिएर हिँड्नुपर्छ ।’


गपका करिब पाँचघरका बासिन्दालाई पनि मतदानकेन्द्र दुर्गममा छ । क्वाकमा रहेको मतदान केन्द्र पुग्न यहाँका बासिन्दा दुई घण्टा हिड्नुपर्ने बाध्यता रहेका स्थानीय थार्पा लामा बताउँछन् । ‘गपबाट कोही क्वाकमा जान्छन्, कोही छाकमा जान्छन्’, उनी भन्छन्, ‘छाकमा भोट हाल्न जान यहाँका ममतदाता डेढघण्टा हिँड्नेगर्छन् ।’


त्यस्तै ड्याङका मतदातालाई बिही केन्द्रमा भोट हाल्न जान साँढेदुईघण्टा लाग्ने उनको भनाइ छ । त्यहाँ करिब १५ घरधुरीको बसोबास छ । त्यस्तै रानाका १० घर परिबारलाई बिही केन्द्रमा भोट हाल्न जान डेढघण्टा हिँड्नुपर्ने लामा बताउँछन् । सबैभन्दा टाढा सेराङका मतदाता भोटहाल्न क्य्राक जानका लागि तीन, साँढेतीनघण्टा लाग्ने उनी बताउँछन् । यहाँ विशेषगरी लामा गुरुहरुको बसोबास छ ।


मतदान गर्न जानकै लागि साँढे दुईदेखि तीनघण्टासम्म हिड्नुपर्ने भएपछि आफूहरु मतदान गर्न जान कठिन हुने हिनाङका वृद्धवृद्धाको गुनासो छ । ‘हामी माने घुमेर बस्ने बूढाबूढीहरु भोट हाल्न टाढा प¥यो’, सोनाम ल्हामो भन्छिन्, ‘घरको काम गर्न नसकेर गुम्बाको छेउछाउ आएर बसेका छौँ । भोट हाल्न तीनघण्टा हिडेर कसरी जाने ?’


मतदानकेन्द्र निर्धारण गर्दा बस्तीबाट कतिसम्म टाढा हुनुपर्ने भन्ने मापदण्ड नबनाउँदा यस्तो समस्या आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइरालाको भनाइ छ । ‘एउटा वडामा कम्तीमा एउटा मतदानकेन्द्र हुनुपर्ने भन्नेचाहिँ भयो’, उनले भने, ‘एउटा मतदानस्थलमा एकहजार जना भन्दा धेरै मतदाता भए केन्द्र दुई, तीन, चारवटासम्म बनाउन सकिने भयो, तर टाढा नजिकको भन्नेको हकमा केही व्यवस्था भएन ।’

प्रतिक्रिया दिनुहोस्