
माओवादी र जसपा बिच गोरखाको गण्डकी गाउँपालिकामा चुनावी तालमेल
गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी बिच चुनावी तालमेल भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रबाट दिपक तिमल्सिना र जसपाको तर्फबाट उपाध्यक्षमा भिम श्रेष्ठ उम्मेदवार भएका छन् ।
सहमतीपछि जसपाबाट अध्यक्षको उम्मेदवारी दिएका सनमाया आले र माओवादी केन्द्रबाट उपाध्यक्ष बनेका पार्वती गुरुङले अन्तिम नामावली प्रकाशन गर्नु अगाबै शुक्रवार पाँच बजे भित्र उम्मेदवारी फिर्ता लिएका छन् । दुबै पार्टी बिच चुनावी तालमेल गर्ने लिखित सहमती भएको जसपाबाट उपाध्यक्ष पदका उम्मेदवार भिम श्रेष्ठले बताए । चुनावी अभियान पनि संयुक्त रुपमा सुरु भएको छ ।
जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले गण्डकी गाउँपालिकाको चुनावी तालमेलको आधिकारीक विषय आफुलाई थाहा नभएको बताएका छन् । ‘जिल्लाबाट त्यस्तो सहमती भएको छैन, पालिकाले के गरेको छ त्यो थाहा भएन’ उनले भने ।
अन्यत्र पनि पालिका स्तरका नेताहरु चुनावी तालमेलको विषयमा छलफलमा छन् ।




