| बुधबार, कार्तिक २५, २०८३

गोरखामा गठबन्धन दलको सोमवारको बैठक पनि निश्कर्षबिहिन, अर्को बैठक ८ गते बस्ने

स्थानीय निर्वाचनका लागि पालिका भागवण्डा गर्न सोमवार बसेको संयन्त्रको गठबन्धन बैठक निश्कर्षमा नपुगी स्थागित भएको छ । दलहरु आफ्नो अडान लचिलो नभएपछि बैठक औपचारिकतामा मात्रै सीमित भएको हो ।


नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले यसअघि गरे जस्तै आठ, पाँच र तीन वटा पालिकाको दावी नछाडेपछि सोमवारको बैठक बिना निश्कर्ष सकिएको हो ।


‘हामी छलफलमै छौँ । ढिलोमा ८ गतेसम्म टुङ्ग्याउने सहमति भएको छ’, गठबन्धन संयन्त्रका संयोजक नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले भने । यस बिचमा अनौपचारिक रुपमा छलफल र बैठक भने चलिरहने उनले बताए ।


‘दलहरु आ–आफ्नै अडानमा भएकाले बैठक निश्कर्षमा पुग्न सकेन’, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादब बस्नेतले भने । छलफल मात्रै भएको बताउँदै उनले जिल्लाका नेताहरुले केन्द्रको निर्देशन पर्खिएको हुन सक्ने बताए ।


माओवादी केन्द्रका लोकप्रसाद बञ्जाराले सोमवारको बैठकमा कुनै ठोस निर्णय हुन नसकेको बताए । पुनः बैठक बस्ने गरी सोमवार दलहरु बीच छलफल मात्र भएको उनले बताए ।
दलहरुबिच पालिका भागवण्डा नमिल्दा गठबन्धनमै संकट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्