
गठबन्धन कांग्रेसलाई मात्र चाहिएको हैन : केन्द्रीय सदस्य पाण्डे
आ–आफ्नै अडानबाट कुनै पनि पार्टी टसमस नभएका कारण सिट बाँडफाँटका बिषयमा आयोजित बैठक पटक पटक निश्कर्षबिहिन भएको सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गठबन्धन कांग्रेसका लागि मात्र खाँचो नभएको बताएका छन् । गठबन्धन टिकाउन सबै पार्टी लचिलो हुन जरुरी रहेको भन्दै उनले भने, ‘चुनावी तालमेल कांग्रेसलाई मात्र चाहिएको हैन । जिल्लाको मात्र आवश्यकता पनि हैन, यो राष्ट्रका लागि चाहिएको हो ।’
केन्द्रीय संयन्त्रबाट आएको परिपत्रको पहिलो नंबरमा २०७४ सालको निर्वाचनमा प्रमुख पदमा निर्वाचितलाई आधार बनाउन उल्लेख भए पनि गठबन्धनका दलहरु अन्य तर्कबितर्क गरी भाँड्न लागि परेकोमा उनको चिन्ता छ । गठबन्धन भनेको ‘गिभ एण्ड टेक’ रहेको बताउँदै उनले यसअघि जसले जहाँ जितेको छ त्यो सिट लिने गरी गठबन्धन हुने बताए । ‘गठबन्धन भन्दा बाहिरका दलले जितेको ठाउँमा जसको मत धेरै छ त्यहाँ त्यो दललाई दिने गरी गठबन्धन गर्ने भन्ने केन्द्रको निर्देशन छ’, उनले भने । नौवटा पालिकामा प्रमुख जितेको कांग्रेसले गोरखामा ती ठाउँहरु पाउनुपर्ने दावी उनले गरे । ‘अन्यत्र जिल्लामा केन्द्रको निर्देशन अनुसार हुने यहाँचाँहि अपवाद हुने भन्ने हुँदैन’ उनले भने ।
गोरखामा हरेक निर्वाचनमा कांग्रेस र माओवादी बिच चुनावी प्रतिस्पर्धा हुने भएकाले कार्यकर्तालाई गठबन्धन अस्वभाविक लाग्न सक्ने उनले बताए । केन्द्रमा जुन आवश्यकताले गठबन्धन भएको छ त्यो बाचाइराख्न पनि स्थानीय तहमा गठबन्धन आवश्यक परेको उनले बताए । गठबन्धन गर्दा कार्यकर्ता र जनताको नजरमा पनि स्वभाविक देखिने गरी आधार तयार गर्र्नुपर्ने बताउँदै कांग्रेस केन्द्रीय सदस्य पाण्डेले भने, ‘अहिलेको संगठन र जनसमर्थकको विषयलाई पनि गठबन्धन गर्दा ध्यान दिनुपर्छ ।’
सबै गठबन्धन दलको बीचमा बैठक बसेर टुङ्ग्याउने उनले बताए । तालमेल हुने अवस्था नआएको खण्डमा एक्लै चुनाव लड्न पनि गठबन्धन भित्रका दलहरु तयार रहनुपर्ने बताउँदै उनले त्यस्तो अवस्था आए कांग्रेस पनि तयार रहने बताए । बैशाख ३ गतेभित्र जिल्लास्थित संयन्त्रले खाका प्रदेश पठाउने र त्यसपछि टुङ्गो लाग्ने केन्द्रीय सदस्य पाण्डेले बताए ।




