| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सत्ता गठबन्धनको चुनावी तालमेल बैठक औपचारिकता मात्रै

सत्ता गठबन्धनको चुनावी तालमेल बिषयमा छलफल गर्न सोमबार आव्हान गरिएको बैठकबाट महत्वपूर्ण निर्णय हुने आशा जिल्लाबासीमा थियो । चैत १८ गते पहिलो बैठक बसेर केन्द्रको निर्देशन र मर्म अनुसार जिल्लामा चुनावी तालमेल गर्ने योजना बनाएका दलहरुले सोमवारको दोस्रो बैठकबाट पनि कुनै निश्कर्ष निकाल्न सकेनन् ।


पहिलो बैठक संयन्त्र निर्माण गरेर सकियो भने दोस्रो बैठक गठबन्धनको विषयमा केन्द्रले स्पष्ट जानकारी, परिपत्र नगरेकाले गर्न लगाउने भन्ने विषयमै केन्द्रित रह्यो । गठबन्धनका विषयमा दलहरुले आ–आफ्नो बुझाई राखे । पार्टीको अवस्थाको बारेमा पनि छलफल भयो । तर कार्यकर्ताले चाहेको जस्तो कहाँ कसको उम्मेदवार रहने, वडामा कसरी तालमेल गर्ने, पालिकामा के गर्ने भन्ने यकिन जिल्ला स्तरीय संयन्त्रले गर्न सकेन ।


तालमेलको बैठक पनि बस्ने र आफ्ना पार्टीको उम्मेद्वार छनौटको काम पनि तिब्र गतिमा दलहरुले अलगअलग रुपमा अघि बढाएका छन् । तालमेल नभएको खण्डमा एक्लै चुनावी मैदानमा उत्रने गरी पनि दलहरुले तयारी गरिरहेका हुन् । वडा सदस्यदेखि अध्यक्षसम्मका आकांक्षीको पहिचान गरिएको छ । तालमेल भएको खण्डमा कुन तह भागमा पर्छ सोही अनुसार उम्मेद्वार तोक्ने योजना दलहरुको छ ।
सत्ता गठबन्धनका दलको बैठक पालिका र वडा स्तरमा पनि गर्न सुरु भएको छ । ती बैठकमा पनि गठबन्धनको मर्म र भावनाअनुसार तालमेल गरेर अघि बढ्ने भन्ने छ । तर कुन विधि र पद्धति अबलम्बन गर्ने भन्नेमा प्रष्ट निर्णय जिल्ला, पालिका, वडाले गर्न सकेको छैन । सबै तहमा भएका बैठक मात्रै औपचारिकताका लागि भएका छन् । ठोस निर्णय हुने गरी कहिँकतै बैठक भएको छैन ।


संयन्त्र प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले तीनबुँदे निर्णय गरेको हो ।
गठबन्धनको बारेमा केन्द्रीय समितिबाट जिल्ला र पालिका समितिहरुमा प्राप्त पत्रहरुको फरक–फरक सन्देश प्रवाह भएको र जिल्ला नेतृत्वमा फरक–फरक बुझाई हुन निश्कर्ष बैठकले निकालेको छ । सो सन्दर्भमा परिपत्र पठाउँदा सबै दलहरुलाई सहज, सरल र एकरुपता हुने गरी एउटै परिपत्र गर्न केन्द्रीय गठबन्धन संयन्त्रलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।


बैठकले गठबन्धन दलको जिल्लाको अबस्थाको बारेमा आ–आफ्नो दलको केन्द्रीय समितिमा जानकारी गराउने निर्णय गरेको छ । साथै सोमवार दलहरुले आफ्नो सांगठनिक अवस्था र गठबन्धनको बारेमा धारणा प्रस्तुत गरी समिक्षा गरेका थिए ।
गठबन्धन प्रभावकारी बनाउन आवश्यकता अनुसार बैठकलाई निरन्तरता दिँदै जाने तेस्रो निर्णय गरिएको छ ।


बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं गठबन्धका संयोजक नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष यादव बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट सहभागी थिए । संयन्त्रका सदस्य बाहेकपनि राजनीतिक दलका अन्य नेताहरुको उपस्थितिसमेत रहेको थियो । बैठक नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्