| बुधबार, कार्तिक २५, २०८३

नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर प्रकाशित


गोरखाका लेखक जीवन आले मगरद्वारा लिखित ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ शनिबार विमोचन गरिएको छ । शहीद लखनथापा गाउँपालिकाद्वारा प्रकाशित सो पुस्तक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरले विमोचन गरेका हुन् ।
प्रज्ञा भवनमा आयोजित समारोहमा पुस्तक विमोचन गर्दै मन्त्री आलेले राणा शासनको विरुद्धमा लखन थापाको नेतृत्वमा भएको जनविद्रोह ऐतिहासिक महत्वको रहेको उल्लेख गरे । करिव दुई हजार जनसेना तयार गरी वि. सं. १९२७ देखि १९३३ सालसम्म पहिलो पटक नेपाली जनताहरुले विद्रोह गरेको घटनाले ऐतिहासिक महत्त्व वोकेको उनले वताए ।


नेल र कोर्रा हानी चरम यातना दिँदा पनि लोकतन्त्र र जनअधिकार स्थापनाका एजेण्डा नछाडी निर्भिकताका साथ अडिग रहेका लखन थापाको महानताको प्रशंसा गरे । वि.सं. २०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहीद घोषणा गरी उच्च सम्मान गरेको भन्दै मन्त्री आलेले लखन थापालाई सम्मान गर्न र गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ रहेको लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने वताए । सो पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्वपूर्ण ऐतिहासिक दस्तावेज वन्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा वोल्दै आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राणा सरकारको आदेशमा वि.सं. १९३३ मा शहिद लखन गाउँपालिका वडा नं. ७, वुङ्कोट काहुले भङ्गारमा लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको उल्लेख गरे ।


उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको वताउँदै राष्ट्र निर्माणमा लखन थापा लगायत हजारौं मगर योद्धाहरुले वलिदानी दिएको बताए ।


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले प्रथम शहीद लखन थापा मगर जस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको वताए ।


कार्यक्रममा लखन थापा मगरको योगदान कुनै जाति विशेषको लागि मात्रै नभई सिंगो नेपाल राष्ट्र र नेपाली जनताहरुको हितका लागि भएको नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले बताए । कार्यक्रममा वोल्दै इतिहासकार रामप्रसाद उपाध्यायले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे ।


कार्यक्रममा शहीद लखन गाउँपालिका, गोरखाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेशवावु थापा मगरले मन्त्री आलेमार्फत नेपाल सरकार समक्ष ८ वँुदे ज्ञापनपत्र पेश गरे । ज्ञापन पत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरि उनले शहादत प्राप्त गरेको दिन सार्वजनिक विदा व्यवस्था गरि सरकारी स्तरवाट राष्ट्रिय रुपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य ६ जनालाई शहीद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरेपनि क्रान्तिकारी युद्ध मोर्चामा सक्रिय हुनेहरुलाई प्रथम जनविद्रोहका योद्धाको रुपमा राज्यवाट सम्मान प्रदान गर्नुपर्ने र लखन थापा मगर लगायत उनका सहयोद्धाहरुको जीवनी विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेश गरिनुपर्ने माग गरेको छ ।


लेखक तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले प्रथम शहीद लखन थापा मगरको वारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नाबशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवं घटनाक्रमहरुको वस्तुगत तथ्य र प्रमाणको आधारमा उक्त शोधग्रन्थ तयार गरिएको वताए ।

प्रतिक्रिया दिनुहोस्