
गोनपा ७ को सार्वजनिक सुनुवाइ सम्पन्न
गोरखा नगरपालिका ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा सोच नेपालको सहजीकरणमा शनिबार कार्यक्रम भएको हो । आ.व. २०७७÷०७८ तथा चालु आ.व. २०७८÷०७९ मा वडाबाट प्रवाह भएको सेवा तथा सञ्चालन भएका योजना कार्यक्रमको समिक्षा एवं मुल्यांकन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
वडाध्यक्ष बिष्णुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले कृषि, शिक्षा, खानेपानी, निर्माणधीन अलपत्र बसपार्क, सिटीहल तथा विकास निर्माणकाबारे असन्तुष्टी पोखेका छन् । वडाले स्थानीय टोलविकास संस्थाहरुसंग समन्वय नगरी एकलौटी ढंगले काम गर्ने गरेको खिरेपानी टोलका प्रविन श्रेष्ठले बताए । सदरमुकाममा रहेरपनि वडा नम्बर ७ बत्तिमुनिको अध्यारो भएको भन्दै उनले वडाध्यक्षको कार्यशैलीप्रति असन्तोष ब्यक्त गरे ।
छिपिटोल नयाँबजारका ओमबहादुर श्रेष्ठले वडाभित्र उत्पादन हुने कृषि उपजको सहज बजार ब्यवस्थान गर्न हाट बजार सञ्चालन गर्नुपर्ने सुझाव दिए । भएको बसपार्क हटाएर डण्डीडाँडामा बसपार्क निर्माण गर्ने भनिएपनि बर्षौदेखि काम अलपत्र बन्दा पार्किङको समस्या भएको भन्दै तत्काल बसपार्क सञ्चालन गर्न गैरीकुवा टोलका इश्वरप्रसाद श्रेष्ठले माग गरेका छन् । त्यस्तै कार्यक्रममा जन्तेढुंगा टोलका महेश्वर बस्नेतले गोरखा क्याम्पसदेखि छेवेटारसम्मको सडक अलपत्र बन्दा कसैको नजर नपुगेको भन्दै गुनासो पोखे ।
जनप्रतिनिधीले रोड खन्ने र ढलान गर्नै कामलाई मात्रै विकास सम्झनुले समस्या उत्पन्न भएको नयाँबस्त रमाइलो टोलका अविनास कोइरालाले सामाजिक रुपमान्तरणमा समेत लाग्नुपर्नेमा जोड दिए । किसानले समयमै विउविजन नपाएको गुनासो गर्दै धारापानी टोलका डम्मर कुमार श्रेष्ठले वडाले १ लाख खर्चेर किनेको त्रिपाल आसेपासेलाई मात्रै वितरण गरेको आरोप लगाए ।
त्यस्तै कार्यक्रममा दिपशिखा टोलका मायालक्ष्मी भण्डारीले बर्षौदेखि निर्माणाधिन अवस्थामा रहेको सिटिहलको काम सम्पन्न गर्न र सञ्चालनमा ल्याउन दवाव दिनुपर्ने बताए । सडकमा नाली नहुँदा लाखौ खर्चेर निर्माण गरिएका सडकहरु जिर्ण बनेको भन्दै नयाँबसपार्क टोलका डिलबहादु श्रेष्ठले तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए । मान्द्रेढुंगा टोलका धनबहादुर खत्रीले उपभोक्ता समितिका नाममा ठेकेदारले सडक निर्माणमा रजाइँ गरिरहेको र अनियमितता भएको थाहा पाउदा समेत सम्बन्धित निकाय मौन रहेको आरोप लगाए । ऋषिराम न्यौपानेले किसानलाई समयमै रासायनिक मल वितरण गर्न माग गरे भने पात्ली तामाङले विकास निर्माणदेखि हरेक कार्यक्रममा महिलालाई विभेद गर्नेगरेको गुनासो गरिन् ।
कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरुको गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त तथा वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जवाफ दिएका थिए । कार्यक्रममा सोच नेपालका जिल्ला प्रतिनिधि मोहसिन अलि मियाँले बिभिन्न सुचक र प्रश्नावलीमा तयार गरिएको ३ वटा अनुसूची र ५० जना सेवाग्राही तथा स्थानीयमा गरिएको सर्भेको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडासचिव सरस्वती अधिकारीले वडाको सेवा प्रवाह, कार्यान्वयन भएको योजनाको हरहिसाव तथा आम्दानी र खर्चका बारे तयार गरिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।




