
दलितको मुद्दामा साथ दिने कांग्रेस मात्रै हो : केन्द्रीय सदस्य पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले दलित समुदायका हरेक मुद्दालाई नेपाली कांग्रेसले साथ दिएको बताए । शनिवार दलित विद्यार्थी संघ गोरखाको आयोजनामा नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसले हरेक ठाउँमा दलित समुदायलाई स्थान दिएको छ’ उनले भने ‘अन्य पार्टीले जस्तो आश्वासन मात्र देखाउने काम कांग्रेसले गर्दैन, हाम्रो पार्टीमा हामी सबै जाति धर्म, भाषाका समुदायक सँगै छौँ ।’ आन्दोलन र उत्तेजनामा अन्य राजनीतिक दलहरुले दलित समुदायलाई ठुलो आश्वासन देखाउने गरेको तर ब्यवाहारमा भने दलित समुदायलाई पछाडि पारिरहेको बताए ।
दलित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले सबै दलित समुदायलाई आफ्नो मुद्दाको बारेमा पार्टीले पनि बुझाउनुपर्ने, गाउँगाउँ, घरघरमा पुगेर भेट्नुपर्ने, समस्या समाधान गर्न चासो दिनुपर्ने धारणा राखे । साथै उनले आसन्न स्थानीय निर्वाचन लक्षित गतिविधिमा जोड दिन पनि आग्रह गरे ।
नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले दलित हक हितका लागि हिजो पनि कांग्रेसले लड्दै आएको र भोलि पनि निरन्तर लडिरहने बताए । प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने पार्टी भएकाले दलित समुदाय सबैलाई कांग्रेसमा आवद्ध हुन उनले अनुरोध गरे ।
दलित विद्यार्थी संघ गोरखाका सभापति रचन परियारको अध्यक्षतामा भएको कार्यक्रममा दलित संघका केन्द्रीय सदस्य इश्वर परियारले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, रामु नेपाली, हरि गान्धारी, नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी, तरुण दलका अध्यक्ष आनन्द गुरुङ लगायतले मन्तब्य राखेका थिए ।




