
न्याक र लोक्पामा साना जलविद्युत आयोजनाको विजुली बल्यो
विजुली बत्तीको सुविधाबाट बञ्चित रहेका चुमनुब्री गाउँपालिकाका दुई गाउँ न्याक र लोक्पाका बासिन्दाले विजुली बत्तीको उपभोग गर्न पाएका छन् । सोलारको भरमा गुजारा चलाइरहेका ती गाउँका ७० घरधुरीका बासिन्दाले विजुली बत्ती बाल्न पाएपछि खुशी भएका छन् ।
चुमनुब्री ३ को भालुवनमा कादुरीले निर्माण गरेको सिर्दिबास उहिया साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत न्याकगाउँ, न्याकफेदी र पेवाका ४८ घरधुरी र लोक्पाका २२ घरधुरीमा विस्तार गरिएको स्थानीय समीर गुरुङले जानकारी दिए ।
ती गाउँहरुमा वितरण गरिएको विजुलीबत्तीको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ र गोरखा ब्रिटिश वेलफेयरको एरिया वेलफेयर अफिसर फत्तबहादुर गुरुङले संयुक्त रुपमा स्वीच खिचेर उद्घाटन गरेका थिए ।
सो जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष धनबहादुर, एडब्लुओ फत्तबहादुर गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष रामकुमार गुरुङ, न्याक लोक्पा विद्युत विस्तार समितिका अध्यक्ष सेराप गुरुङ, आयोजनाकी सचिव सितल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत गाउँमा आएपछि बत्ती लगायत कुटानी पिसानी मिल, फर्निचर उद्योग, राइस कुकर लगायत भान्सामा प्रयोग हुने भाँडाकुँदा पनि प्रयोग गर्न पाइने भन्दै स्थानीयबासी खुशी भएका छन् ।
आयोजनाको विद्युत विस्तार भएपछि न्याकमा रहेको मोबाइल टावरमा अब निरन्तर विद्युत प्रवाह हुने र मोबाइल सेवा सुचारु हुने स्थानीयबासीले विश्वास लिएका छन् ।




