| बुधबार, कार्तिक २५, २०८३

बारपाकमा हिउँको बर्को


पर्यटकीय गाउँ बारपाक हिउँले ढपक्कै ढाकेको छ । १९०० मिटर उचाइमा रहेको बारपाकका एघारसय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए ।


‘यो बर्षको पहिलो पटक आज हिउँ प¥यो’, घलेले भने, ‘युवाहरु हिउँ खेलेर रमाइरहेका छन् । बुढाबुढीहरु घरभित्रै आगो तापेर बसिरहेका छन् ।’ धेरै बाक्लो हिउँ नपरे पनि गाउँ सेताम्मे भएको उनले बताए ।


हिउँले बारीमा लगाइएको गहुँ र जौ राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएको उनले बताए ।

यसबर्षको पहिलो पटक हिउँले ढाकिएको बारपाक गाउँ । तस्वीर : जितबहादुर घले ।


साथै धार्चे गाउँपालिकाको ठूलो गाउँ लाप्राकमा पनि हिउँ परेको छ । २७०० मिटर उचाइको गुप्सीबस्तीमा एक महिनादेखि हिउँ जमेपनि तल्लो गाउँमा भने अहिले परेको स्थानीयले बताएका छन् ।


अजीरकोट गाउँपालिकाको सिरानडाँडा, नम्की र भच्चेक बजारसम्म पनि शुक्रबार पहिलो पटक हिउँ आएको स्थानीयले बताएका छन् ।


धार्चे गाउँपालिका वडा नं. १ हुल्चुक, २ को रुञ्चेत, केरौँजा, ३ को उहिया खोर्ला, वडा नं. ४ को लाप्राक, ५ को सिङ्ला, गुम्दा, यमगाउँ, लप्सीबोट ६ को काशिगाउँ, यार्सा र वडा नं. ७ को लापुसम्म पनि हिउँ परेको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । बिहानैदेखि हिउँ परेपछि स्थानीयबासी घरभित्रै आगो तापेर बसिरहेका उनले बताए ।


त्यस्तै सिरानचोक गाउँपालिकाका डाँडामा पनि यसबर्ष हिउँ परेको छ । धेरैबर्षपछि अहिले पहिलो पटक हिउँ परेको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालहरुमा तस्वीर सजाएका छन् ।


प्रतिक्रिया दिनुहोस्