
सेवा लिन आएका सेवाग्राही सडकभरि पसारो
बारपाक स्थायी घर भई हाल पोखरा बस्ने रेश्मा गुरुङ नागरिकता बनाउनका लागि सोमबार गोरखा आइन् । १० बजेअघि नै कार्यालय परिसर आइपुगेकी उनलाई कार्यालयको गेटमा बसेको प्रहरीले गेटपास दिएन । सडकमा लाइनमा बस्न आदेश ग¥यो । निरिह भएर कार्यालयको गेटबाहिरै लाइनमा बसिन् ।
सेवाग्राहीको भीडका कारण लाइनमा अटेसमटेस भयो । कोभिडबाट बच्न भन्दै सेवाग्राहीलाई रोडमा पसारो पारे पनि भौतिक दुरी त परको कुरा सडकमा सेवाग्राहीको घचेटाघचेट थियो ।
लाइनमा दुईघण्टा पूरै अटेसमटेस भएर बसेपछि गेटमा खोपकार्ड देखाएर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरिन् । गेटपासको तनाब सिद्धिए पनि उनको कागजी तनाब भने सकिएन, किनभने नागरिकतामा सनाखतका लागि आएकी आमा मिना गुरुङसित खोपकार्ड थिएन । फलस्वरुप उनी बाहिरिन बाध्य भइन् । ‘मसित पनि खोपकार्ड त थियो, तर पोखरामै थियो’, मिना गुरुङ भन्छिन्, ‘पोखराबाट बारपाक आएर बसेको एक महिना भइसकेको थियो । तैपनि फिर्ता नै गरिहाल्दैन । सम्झाइबुझाइ गरेर मौका दिन्छ होला भनेको दिएन ।’
सौरपानीबाट छोरा रोजन तामाङको नागरिकता बनाउन आएका आइतपाल तामाङ पनि सोमबार रित्तै घर फर्कन बाध्य भए । ‘छोरासित खोपकार्ड थियो, उ भित्र जान पायो । सनाखत गर्नुपर्छ भनेर आएको मसित खोपकार्ड थिएन त्यसैले भित्र पस्न पाइन’, तामाङ भन्छन्, ‘अस्ति बिहिबार आउँदा पनि सक्कली जन्मदर्ता भएन भनेर फर्काइदिए । त्यतिबेला खोपकार्ड चाहिएको थिएन । अहिले पनि चाहिँदैन होला भनेर आएँ तर म भित्र पस्न नपाएकाले काम हुन सकेन ।’ आफू वैदेशिक रोजगारीको क्रममा मलेसियामा गएको र मलेसियामा खोप नलगाएकाले आफूसित खोपकार्ड नभएको उनको दुखेसो छ ।
खोप कार्ड अनिबार्य देखाउनु पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय गोरखामा सेवा लिन गएका सेवाग्राही सडकमा अलपत्र पर्ने गरेका छन् । खोपकार्ड देखाएर मात्र भित्र प्रवेश गर्न पाइने ब्यबस्थाले धेरै सेवाग्राही सरकारी सेवा नलिई घर फर्किनु परेको गुनासो गर्छन् ।
‘बाहिर घचेटाघचेट गरेर लाइनमा बस्दा कोरोना नफैलिने, भित्र मात्र खुल्ला राखेर हुन्छ र ?’, सडकको अस्तव्यस्तता देखेर दिक्क एक सेवाग्राही भन्छन्, ‘खै व्यवहारिकता नबुझी के तमासा गरेको हो बुझ्न सकिएन ।’ प्रत्येक दिन दुई–दुई गाउँपालिकाका सेवाग्राहीलाई मात्र सेवा दिने गरी आलोपालो गरेमा सेवाग्राहीको भीड कम हुने र मर्यादापूर्वक सेवा दिन सकिने उनले सुझाव दिए ।
तर कार्यालयले भने सेवाग्राहीको समस्याका बारेमा अनभिज्ञता प्रकट गरेको छ । ‘हाम्रो कार्यालयको सेवा लिन खोपकार्ड अनिबार्य गरिएको छ’, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकराज सुवेदी भन्छन्, ‘नाबालक परिचयपत्र बनाउन आएकी एक महिला भौँतारिरहेको देखेको थिएँ । पछि कसरी काम गरेर फर्किइछन् थाहा भएन ।’
खोपकार्ड नल्याएको भन्दै जिल्ला प्रशासन कार्यालयले गेटभित्र प्रवेश गर्न नदिएपछि सेवाग्राही दिनभर सडकमा अस्तव्यस्त बनेर बस्ने गरेका छन् ।




