| बुधबार, कार्तिक २५, २०८३

उजुरी परेपछि प्रोकका तीन विद्यालय, स्वास्थ्यसंस्था र हेलिकोप्टर सेवा बन्द


धर्म प्रचार गरेको आरोपमा उजुरी परेपछि चुमनुब्री गाउँपालिकाका सातवटै वडाहरुमा सेवा सञ्चालन गरिरहेको माउण्टेन चाइल्ड नामक एक सामाजिक संस्थाले सेवा बन्द गरेको छ ।


क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा गृहमन्त्रालयमा संस्थाविरुद्ध उजुरी परेपछि बिगत छ महिनादेखि सो संस्थाले सेवा बन्द गरेको स्थानीयले बताएका छन् ।


सो संस्थाले चुमनुब्री गाउँपालिका ४ मा सञ्चालन गरेको तीनवटा पूर्व प्राथमिक विद्यालय, एउटा गाउँघर क्लिनिक र सुत्केरी तथा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम गत साउनदेखि बन्द भएको स्थानीय निमा लामाले जानकारी दिए ।


‘माउण्टेन चाइल्डको सहयोगमा गप जागरण समाजले गप, क्वाक र छाकमा पूर्व प्राथमिक विद्यालय(इसिडी) सञ्चालन गरेको थियो तर गत साउनदेखि बन्द भयो’, गप जागरण समाजका लामाले भने, ‘गपमा गाउँघर क्लिनिक सञ्चालन गरेको थियो, त्यो पनि बन्द भयो । सबैभन्दा ठूलो सेवा त चुमनुब्री गाउँपालिका भरिका घाइते र सुत्केरी हेलिकोप्टरबाट उद्धार गर्ने(हेलो) कार्यक्रम सञ्चालन गरिरहेको थियो, त्यो पनि बन्द भयो ।’ अहिले दुर्घटनामा परेका घाइते तथा अस्पताल लानु पर्ने सुत्केरीहरुलाई उपचार सेवामा ठूलो समस्या आइपरेको उनले बताए ।


सो संस्थाले चुमनुब्री गाउँपालिकाभर यी बाहेक अन्य स्वास्थ्य, सरसफाइ तथा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

गृहमन्त्रालयको निर्देशनमा समाजकल्याण परिषदले कार्यक्रम गर्न अनुमति नदिएपछि सबै सेवा बन्द भएको स्थानीयबासीको गुनासो छ ।


‘संस्थाले नुब्री आधारभूत विद्यालयको होस्टलका लागि दुईजना कुक, दुईजना आया र एकजना तिब्बती भाषा(व्याकरण) पढाउने शिक्षकका लागि तलब सुविधा उपलब्ध गराइरहेको थियो त्यो पनि बन्द भयो’, गप जागरण समाजका अध्यक्षसमेत रहेका खेम्पो लामा गुरु छेवाङ नुर्बु लामाले भने, ‘पाँचजना जनशक्ति एकैसाथ कटौति भएपछि होस्टेल चलाउन पनि गाह्रो भयो । संस्थाले नियमित रुपमा विद्यार्थीलाई दिँदै आएको स्टेशनरी, पोशाक, ओढ्ने, ओछ्याउने भाँडाकुँडा किन्न दिइरहेको रकम पनि बन्द भएको छ ।’

अपरिचित व्यक्तिले संस्थाविरुद्ध झुठा आरोपमा उजुरी दिएको उनको दावी छ ।


‘अध्यक्ष म स्वयं लामा गुरु हुँ । समुदाय स्तरमा काम गर्ने माउण्टेन चाइल्ड होइन, हाम्रो संस्था हो । उ त केवल दातृ संस्था मात्र हो । हामी कसरी धर्म प्रचार गर्न दिन्छौँ र ? कसैले रिरिबीले बिल्कुल झुठा उजुरी दिँदा दुर्गमका समुदायले दुख पाए’ उनले भने ।


आफ्नो वडामा सो संस्थाले धर्म प्रचार हुने खालका कुनै काम नगरेको गाउँका मुख्य लामा समेत रहेका चुमनुब्री ७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाले बताए । ‘धर्म प्रचार गरेको उजुरी झुठो हो भन्नका लागि समाजकल्याण परिषदमा हामी सबै वडाअध्यक्षहरु जाने कार्यक्रममा म पनि सहभागी थिएँ’, लामाले भने, ‘म आफै मुख्य लामा हो, क्रिश्चियन धर्म प्रचार गरेको त केही पनि थाहा पाएको छैन ।’


आफूहरुलाई नखाएको विष लागेको भन्दै माउण्टेन चाइल्डले आफूहरु स्थानीयबासीको आस्था र विश्वास पाए मात्र अघि बढ्ने बताएको छ ।

‘धर्म प्रचार गरेको आरोपले हामी स्तव्ध भएका छौँ’, सो संस्थाका कार्यक्रम संयोजक सुशील घिमिरे भन्छन्, ‘हामीले त सडक सञ्जालले नजोडेको अति दुर्गमबस्तीका जनताको जीवन बचाउने काम गरिरहेका थियौँ । स्थानीयबासीको माग बमोजिम शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका थियौँ तर त्यसको सजायँस्वरुप हामीलाई नखाएको बिष लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्