
जनजागृति माविका ४० जना छात्रालाई राजेन्द्र पराजुलीद्वारा ओढ्ने, ओछ्याउने सहयोग
धार्चे ५ माछाखोलास्थित जनजागृति माविको छात्रावासमा बस्ने ४० जना छात्रालाई खाट, सिरक, डसना लगायतका सामग्री सहयोग गरिएको छ । आरुघाट गाउँपालिका ७ आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गर्ने राजेन्द्र पराजुलीले उनीहरुलाई चारलाख २५ हजार रुपैयाँ बराबरको खाट, सिरक, डसना, सिरानी, तन्न प्रदान गरेका हुन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य जिल्ला उपाध्यक्षसमेत रहेका पराजुलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्व गुरुङ तथा प्रधानाध्यापक सूर्यमान गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । ‘छात्रावासमा बसेका विशेषगरी छात्राहरुका लागि सहयोग गरेको पराजुलीले बताए ।
‘छात्रावासमा ७० जना बस्दा रहेछन् । सुत्ने बस्ने ब्यबस्था निकै कठिन छ भन्ने जानकारी भयो । गएर हेरेँ । बेञ्चहरु जोडेर सुत्ने ठाउँ बनाएका रहेछन् । त्यसैले मैले आफ्नै व्यक्तिगत खर्चबाट ४० जनालाई पुग्ने बेड, ओढ्ने, ओछ्याउने दिएको हुँ’, उनले भने, ‘७० जनालाई नै दिने चाहना भएर पनि आफ्नो सीमितताका कारण सबैलाई सहयोग गर्न सकिन । उनीहरुलाई पनि सहयोग गर्नु अति आवश्यक छ ।’
छात्रवासमा बस्ने विद्यार्थीलाई सहयोग गरेकामा विद्यालय तथा स्थानीयबासीले पराजुलीप्रति कृतज्ञता प्रकट गरेका छन् ।

साथै सोही अवसरमा पराजुलीले धार्चे ३ उहियाको जनआदर्श युवा क्लवलाई २० थान कुर्ची र एउटा टेवल प्रदान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोहिणीप्रसाद पाण्डे, संघीय परिषद सदस्य तथा तमु राष्ट्रिय परिषदका अध्यक्ष राम गुरुङ, समाजवादी युवा संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका इञ्चार्ज बासु भट्ट लगायतले शुभकामना प्रदान गरेका थिए ।




