
फुटपाथ अतिक्रमण गरेर राखेका सामग्री नगरपालिकाद्वारा जफत
गोरखा नगरपालिकाले बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर राखिएको सामग्री जफत गरेको छ । अनुगमनका क्रममा फुटपाथ जथाभावि राखिएको निर्माण सामग्री, ब्यापारीक प्रयोजनका सामग्रीहरु पटक पटक हटाउन अनुरोध गर्दा अटेर गरेपछी जफत गरिएको हो ।
बिसौनी मोडमा बाटो अवरुद्ध गरेर राखिएको एक बण्डल रड, घ्याम्पेशाल बसपार्क एरियामा फुटपाथ अतिक्रमण गरेर राखिएको नौवटा छाता, अस्वस्थकर खानेकुरा सहित अब्यवस्थित रुपमा लिइएको दुई वटा ठेला, चटपटे घर खाजा घर अनुमती बिना निर्माण गरेको सामग्री बरामद, जुत्ता सिलाउन फुटपाथ अतिक्रमण गरेर बसेकाहरुको सामग्री जफत गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद अम्गाईले बताए ।
कारवाहीमा परेकाहरुलाई पहिलो पटक भए एक हजार जरिवाना गरेर सम्झाई बुझाई गरिनेछ भने दोस्रो पटक कारवाहीमा परेकालाई १० हजार सम्म जरिवाना, तेस्रो पटक पर्नेलाई १५ हजार र सामग्री जफत सम्म हुन सक्ने अधिकृत अम्गाईले बताए । नगरपालिकाले बजार बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।




