| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका कांग्रेस नेता राजेन्द्र बजगाईँद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका युवा नेता गोरखाका राजेन्द्र बजगाईंले आसन्न महाधिवेशनमा केन्द्रीय समिति सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका हुन् ।
उनी १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेद्वार थिए ।
‘अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय समितिमा जान प्रयास गरेका थिएँ । यसपटक अझ बढी प्रतिवद्धतासहित खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु’, बजगाईंले बिहिवार पत्रकारहरुसँग भने ।

कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने बजगाईंको भनाइ छ ।
‘नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पर्यटन क्षेत्रको व्यवसायिक राजनीति हुँदै पार्टी राजनीतिमा उपस्थिति जनाएको छु । जनताले अब विकास खोजेका छन् । विकासको त्यो भोक मेट्ने कांग्रेस बनाउनुपर्छ’, बजगाईंले भने ।
बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ को खबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।

पार्टीभित्र व्यक्तिमा आधारितभन्दा विचारमा आधारित सहकार्य आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीको विचार, आदर्श र कार्यक्रमलाई सफल बनाउन अझ बढी योगदान गर्ने उनले बताए । विशेष गरी उत्तरी गोरखाको सामाजिक काममा पनि बजगाई अग्रसर हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्