
गोरखामा भदौ ३० देखि जनगणनाको काम सुरु हुने
गोरखामा आउँदो भदौ ३० गतेदेखि जनगणनाको काम सुरु हुने भएको छ । ९७ जना सुपरीवेक्षकलाई तालिम दिएर काममा खटाउने अन्तिम तयारी गरिएको तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए ।
भदौ ३० देखि असोज १८ सम्म घर परिवारको लगत संकलनको काम सुरपरिवेक्षकले गर्नेछन् । कात्तिक १३ गतेदेखि १६ गतेसम्म गणकलाई तालिम दिईने र २५ देखि मंसीर ९ गते सम्म गणकहरु तथ्याङ्क संकलन गर्न घरघरमा खटिनेछन् ।
गोरखाका लागि तीन सय ९६ जना गणक हुनेछन् । एक जना गणकले एक सय ७५ देखि दुई सय २५ घरको तथ्याङ्क लिनेछन् । एक सुपरिवेक्षकका लागि भने छ सय घर पर्नेछ ।
यस पटक आफु बसोबास गरेको ठाउँ गाउँ वा शहर भन्ने सामुदायिक प्रश्न पनि गणनाका क्रममा सोधिनेछ । एउटा परिवारमा ३० मिनेट समयमा तथ्याङ्क लिन सकिन्छ ।
कोभिड १९ को संक्रमण बढेकाले यस अघि नै जनगणनाको काम केही पर धकेलिएको हो ।




