| शनिबार, मंसिर २१, २०७६

भच्चेकको सेनाको ब्यारेक खालि गराउन अनुरोध

गोरखा ः  अजिरकोट गाउँपालिका ३ का स्थानीयहरुले भच्चेकमा रहेको सेनाको ब्यारेकको जग्गा खालि गराउन अनुरोध गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ब्यारेक आसपास रहेको आफ्नै जग्गामा सेनालाई सर्न अनुरोध गरेका स्थानीय प्रदिप शेर्पाले जानकारी दिए ।
तत्कालीन शसस्त्र द्वन्द्वको बेलामा नेपाली सेनाले ब्यक्तिगत जग्गाहरु तारबार गरेर आफ्नो पोष्ट खडा गरेको थियो । सोही बेलादेखि अहिलेसम्म नेपाली सेनाले आफ्नो ब्यारेक राखिरहेको छ । स्थानीयले प्रशासनमा बुझाएको पत्रमा भुकम्पपछि भत्केको घर बनाउन पनि सेनाले जग्गा छोडे सहज हुने उल्लेख गरिएको छ । ‘देश संघियतामा गईसक्यो, भच्चेक गाउँपालिकाका केन्द्र भएको छ’ शेर्पाले भने ‘गाउँपालिकाको केन्द्र यहाँ बनेपछि यहाँ जग्गा हुनेहरुले यहिँ घर बनाउन चाहनु स्वभाविकै हो । अर्काेकुरा आफ्नो जग्गा जमिन कति कहाँ भन्ने छुट्टाउन समस्या भयो । सेनाले तारबार लगाएको छ ।

आफ्नो जग्गा छुट्टाउन समस्या भयो ।’ ब्यक्तिगत सम्पत्ती खोजी गर्नु कुनै नौलो कुरो नभएको शेर्पाको भनाई छ । ‘ब्यक्तिगत सम्पत्तीको खोजी गर्न त प¥यो । हामीले आर्मीलाई यहाँबाट धपाउन खोजेको होइन । अहिलेको ब्यारेक भएको ठाउँबाट दुई सय मिटर भित्रै ५४ रोपनी आर्मीको आफ्नै जग्गा त्यहीँ सरे सबैलाई सहज हुन्छ’ उनले भने ।
मंगलबार प्रशासनमा बुझाएको पत्रमा ३१ जना प्रभावितले हस्ताक्षर गरेका छन् । सेनाले अहिलेको ब्यारेक नजिकै आफ्नै जग्गामा भवन समेत बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्