| बिहिबार, बैशाख ३०, २०८३

अँबुवामा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने

गोरखा नगरपालिका वडा नं १३ स्थित अबुवामा ९.८४ मेगावाट क्षमताको ‘दरौँदी नदी जलविद्युत आयोजना’ बन्ने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब २ अर्ब २८ करोड लागतमा जलविद्युत आयोजना बनाउन लागेको हो ।

सो आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भइसकेको छ भने वातावरण प्रभाव मूल्यांकन(इआईए) पनि तयार भइसकेको छ । विद्युत खरिद प्रक्रिया(पिपिए) पनि भइसकेको प्रवद्र्धक कम्पनीका सञ्चालक बलराम केशीले जानकारी दिए ।

आयोजनाको प्रस्ताबित बाँध अँबुवा पुलबाट पाँचसय मिटरमाथि सतिढुङ्गामा निर्माण हुने डिपिआरमा उल्लेख छ । पावर हाउस भने तीनकिलो नजिकै रहेको सिमलगैरीमा निर्माण गरिने आयोजनाका संचालक केसीले जनाए । दुईबर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८२ सालको सुरुवातसँगै आयोजनाको सिलान्यास गरिने उनले जानकारी दिए ।

आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्य ६ हेक्टर जग्गाको मुआव्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ । हाल त्यसैको मुआब्जा दिने प्रक्रिया चलिरहेको उनले जनाएका छन् । आयोजनाले प्रभावित व्यक्तिहरुसँग आपसी समझदारीमा मुआब्जा निर्धारण गरेको केसीको भनाइ छ ।

आयोजनाको ढाँचा पिकिङ रन अफ दि रिभर (पिआरओआर) प्रकृतिको रहेको छ । विद्युत प्राधिकरणका पूर्व कर्मचारी समाज यसको प्रवद्र्धक रहेको छ । जसमध्य डाक्टर डम्बरहादुर नेपालीको नेतृत्वमा नौ जनाको कार्यकारी टिम रहेको छ । नेपाल विद्युत प्राधिकरणका सेवा निवृत कर्मचारीले आर्जन गरेको ज्ञान, सीप, दक्षता, अनुभव र पूँजीलाई विद्युतकै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना बिकास गरिएको कम्पनीले जनाएको छ ।

साँढे दुईबर्षभित्र अर्थात सन् २०२७ जनवरीभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिसक्ने सो आयोजनाको प्रतिवेदनमा उल्लेख छ । आयोजनाका लागि कुल बजेटको ३० प्रतिशत स्वपूँजी र बाँकीको ७० प्रतिशत बैँकबाट कर्जामा लिने आयोजनाले जनाएको छ । स्वपूँजी ३० प्रतिशतलाई सतप्रतिशत मान्दा त्यसको ७५ प्रतिशत लगानी प्रवद्र्धकहरुले गर्ने छन् भने १५ प्रतिशत आईपिओ र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाहरुको सेयरबाट आयोजना निर्माण गर्ने रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्