
गोरखा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने
हरितालिका तीजको अवसरमा गोरखा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा भदौ १० गते प्रतियोगिता हुन लागेको हो । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकामको रानीपोखरी परिसरमा प्रतियोगिता हुने क्लबले जनाएको छ ।
नगरभित्रका महिला दिदीबहिनी बीचको सम्वन्ध थप सुमधुर बनाउँदै उनीहरुको अन्तर्निहित गायन प्रतिभालाई उजागर गर्ने उद्देश्य रहेको क्लबकी अध्यक्ष शारदा खत्रीले बताइन् । उनका अनुसार प्रतियोगिताका मूल नारा ‘खुशी बाँडौँ’ भन्ने रहेको छ । ‘महिला दिदीबहिनीहरुको अनेक पीडा र दुख हुन्छन्,’ उनले भनिन्, ‘सांगितिक माहोलबाटै भएपनि एकैछिन खुशी बाँड्न सकिन्छ कि भन्ने हो ।’ प्रतियोगितामा नगरभित्रका महिला समूहहरु सहभागी हुन पाउने छन् ।
एउटा समूहमा कम्तिमा आठदेखि दश जनासम्म सहभागी हुन पाउने बताइएको छ । भदौ ७ गतेभित्र समूह दर्ता गराइसक्नुपर्ने क्लबकी अध्यक्ष खत्रीले बताइन् । उनका अनुसार प्रतियोगितामा पहिलो हुने समूहले ४० हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना हुने दुई समूहले प्रति समूह ५ हजारका दरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट नृत्य प्रस्तुत गर्नेमध्ये एक जनालाई नगद ५ हजारले पुरस्कृत गरिने बताइएको छ ।
प्रतियोगिता संचालन गर्न करिव सात लाख लाग्ने अनुमान गरिएको छ । बचत भएको रकमले स्वास्थ्य शिविर, महिला स्वास्थ्यसँग सम्बन्धित बिभिन्न सचेतना कार्यक्रम संचालन गर्नुका साथै अशक्त र असहायलाई सहयोग पनि गर्ने क्लबले जनाएको छ । केही रकम क्लबको भवन निर्माणका लागि पनि छ्ट्याउने बताइएको छ । भवन निर्माणका लागि क्लबकी पूर्व अध्यक्ष बिष्णु मास्केले चार आना जग्गा निशुल्क प्रदान गरेकी छन् । प्रतियोगिताले स्थानीय कला संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ । प्रतियोगितामा बाद्यवादनको व्यवस्था स्वयम सहभागी समूहले नै गर्नुपर्ने बताइएको छ ।