| बुधबार, बैशाख १, २०८३

पालिकाभरि एसईईको परीक्षा केन्द्र नहुँदा चुमनुब्रीका विद्यार्थीलाई सकस

हिमालपारिको चुमनुब्री गाउँपालिकाभरि परीक्षाकेन्द्र नहुँदा त्यहाँका एसईई दिने विद्यार्थीहरुले सास्ती खेपिरहेका छन् । आफ्नै पालिकामा परीक्षा केन्द्र नहुँदा वडा नं. २ को ल्हो मावि र वडा नं. ३ को वुद्ध माविका विद्यार्थीहरु दुइटा गाउँपालिका कटेर आरुघाट गाउँपालिका ४ आर्खेतस्थित गण्डकी मावि आइपुगेका छन् ।

जीप चढेर सातघण्टा लामो कच्ची बाटोको यात्रापछि आर्खेत आइपुगेको वुद्ध माविका शिक्षक राजन सापकोटाले जानकारी दिए । ‘कहिल्यै गाडी नचढेका बालबालिका गाडी लागेर लखतरान भएका छन्’, विद्यार्थीहरुको समन्वय गरेर आएका शिक्षक सापकोटाले भने, ‘एसईई दिन आएका बालबालिका बाटोभरि बान्ता गरेर बिरामी जस्ता भएका छन् । कसरी पढ्ने, कसरी परीक्षा तयारी गर्ने ?’ पालिकाभित्रै परीक्षाकेन्द्र नहुँदा चुमनुब्री र धार्चे गाउँपालिका कटेर आरुघाट आउन बाध्य भएको उनको भनाइ छ ।

आर्खेतमा दुईवटा होटलका कोठा भाडामा लिएर विद्यार्थीहरुलाई व्यवस्थापन गरिएको शिक्षक सापकोटाले बताए ।
वुद्ध माविबाट यसबर्ष नियमिततर्फ एसईई दिने विद्यार्थी संख्या ५१ जना रहेको छ भने स्तरवृद्धि परीक्षा दिनेको संख्या १९ रहेको छ ।

गाउँपालिकामै परीक्षाकेन्द्र भइदिएको भए बालबालिकाहरु दुइटा पालिका कटेर यत्तिका टाढा आउनु नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्