
जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गोरखा जेसिजले पालुङटार नगरपालिका–८ धुवाँकोटको अकला मावि र वडा नम्वर ७ च्याङ्लीको जीवनज्योति माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी कापी, कलम, झोला र विद्यालय पोशाक वितरण गरिएको गोरखा जेसीजले जनाएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र एकिकरण नेपालद्वारा सञ्चालनमा रहेको बालिका शिक्षा कार्यक्रम अन्तरगत अकला माविका तीन र जीवनज्योति माविका दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जेसीज गोरखाका अध्यक्ष सुमन गुरुङले बताए ।
वुधवार बिद्यालय पुगेर एक कार्यक्रमका बीच शैक्षिक सामग्री र पोशाक हस्तान्तरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा गोरखा जेसीजका पूर्व अध्यक्ष अन्जनबाबु खत्री, रूम टु रिड का सुस्मा राई, एकीकरण नेपालका उमेश विश्वकर्मा, गोरखा जेसीजका सदस्य लगायतको सहभागिता रहेको थियो ।




