
म कस्तो जेन जी ?
प्रतीक्षा आले मगर ।
अहिले सबैतिर ‘जेन जी’को चर्चा छ । ‘जेन जी’ भन्नाले जेनेरेशन जी अर्थात जी पुस्ता वा जुमर्स भन्ने बुझिन्छ । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेका युवाहरुलाई जेनेरेशन जीको सदस्य मानिन्छ । इन्टरनेट वा अन्य डिजिटल प्रविधिको पहुँचमा हुर्के बढेका पुस्ताहरुको रुपमा जेन जी पुस्तालाई चिनिन्छ ।
म सन् २००४ को मध्यतिर जन्मिएकी एउटा पर्फेक्ट जेन जी हुँ । टेलिभिजन हेर्दै हुर्किएको भएर होला मेरा लागि मेरो दोस्रो स्कुल टिभी थियो । गोरखा बजार नजिकैको सानो टोलमा हुर्किएकी म न त सहरको जस्तो मोर्डन बन्न सकेँ, न त टिपिकल गाउँले नै । मेरो बिचारमा म एउटा एभरेज जेन जी हुँ । मोबाइल, इन्टरनेट १० कक्षापछि मात्र प्रयोग गरेको भएतापनि टिभीको माध्यमबाट सानैमा विश्व बुझेकी जेन जी हुँ म । म, एक दुई क्लासमा पढ्ने बेलादेखि नै इङ्लिस र हिन्दी मज्जाले बुझ्थेँ । त्यसमा स्कूलको भन्दा पनि टेलिभिजनको ठूलो हात छ । विभिन्न कार्टुन र मुभीहरु हेर्दौ हुर्किएको भएर होला मलाई जापानिज, अमेरिकन, अफ्रिकन कल्चरहरु बुझ्न समय लागेन । बाहिरि स्पेस, एलियन, व्ल्याक होल, प्यारलल् युनिभर्सका बारेमा स्कूल या कुनै किताबले भन्दापनि त्यही टिभी र इन्टरनेटले नै सिकाएको हो मलाई । यस्तै, माफिया, अन्डर वल्र्ड, लगायतको विषयमा पनि मुभीबाटै थाहा पाएकी हुँ ।
सानैदेखि नै ड्याडीलाई फोन गर्ने, उहाँलाई हाम्रो फोटो, भिडियो पठाउने जिम्मा मेरो हुन्थ्यो । म मेरो दाईसँग हुर्किएकी हुँ । म ममीसँगै सुत्ने भएकाले उहाँको मोबाइल फोन दाईलेभन्दा मैले बढि चलाउन पाउथेँ । ममीको मोबाइलमा फेसबुक, म्यासेन्जर डाउनलोड गर्दिएकै मैले हो । तर, अहिलेको नयाँ जेनेरेशनले जस्तो २४ सै घण्टा मोबाइल चलाउने छुट हामीहरुलाई हुँदैन थियो । म सानो हुँदा अहिलेको जस्तो इन्टरनेट सर्वसुलभ पनि थिएन । त्यसैले म लगायत हामी सबै जेन जीहरुको मेन सोर्स अफ मोटिभेशन टेलिभिजन नै हो । यद्यपि हामी सानैदेखि मोबाइल फोन लगायत नयाँ प्रविधिहरुसँग परिचित थियौँ ।
एसईई दिइसकेपछि मात्र म जेन जी’को हातमा मोबाइल फोन प¥यो । त्यसपछि त्यो प्यारो टिभीबाट मलाई मोबाइलमा सिफ्ट हुन समय नै लागेन । अझैँ भन्नु पर्दा मोबाइल लिइसकेपछि मैले टिभीलाई बिर्सिएँ । हामी जेन जी’को मुख्य व्यवहारमध्ये सजिलै एक चिजबाट अर्कोमा सिफ्ट हुन सक्नु वा नयाँ वातावरण अनुकूल आफूलाई बदल्नु प्रमुख व्यवहार हो । मोबाइल फोन चलाउन थालेपछि अरु सामान्य जेन–जीहरुको जस्तै मेरो जीवन पनि त्यही फोनभित्र मात्र सीमित भयो । मोबाइल फोनले हामी जेन जी’को जीवनमा ठूलो भूमिका खेलेको छ । म कहिँ न कहिँ मोबाइल फोनको दुरुपयोग नगर्ने जेन जीमध्यमा भने पर्दछु । इन्टरनेटको माध्यमबाट हामी विश्व घटना, नयाँ ट्रेन्ड, फेशन, नयाँ नयाँ उपकरण, नयाँ नयाँ शब्द र फ्रेज, खानाको परिकारहरु आदिको बारेमा अप्डेटेड छौँ ।
हामी जेन–जी’हरुको बानी के छ भने, हामी आफूले आफैँलाई ‘इन्ट्रोभर्ट’ वा एन्टिसोसियल अर्थात असामाजिक पुस्ताको नाम दिएका छौँ । म पनि आफूलाई निकै रिजर्भ र इन्ट्रोभर्ट हुँ भन्ने लाग्छ । हामी जेन जी अघिल्लो पुस्ताहरुसँग बस्दा धेरै बोल्न चाहान्नौँ । कसैले ‘किन नबोलेको ?’ भनी सोधे हामीसँग रेडिमेड एन्सर हुन्छ, ‘म इन्ट्रोभर्ट हो ।’ मैले पनि ‘इन्ट्रोभर्ट’ फ्रेजलाई धेरै प्रयोग गर्ने गरेको छु । कसैलाई अभोइड गर्नुपर्दा होस्, कुनै सामाजिक कार्यक्रममा भाग नलिनुपर्दा, कसैको पे्रmन्ड रिक्वेइस्ट किन एसेप्ट गरिनदेखि लिएर कोहीसँग देखेर पनि किन बोलिन भन्नेसम्मको उत्तर हो, ‘सरी आइ एम इन्ट्रोभर्ट’ हो ।
बहानै बहानामा म साँच्चिकैको इन्ट्रोभर्ट हुँदै गएको छु । पछिल्लो समय मेरो लागि बिदा भनेको दिनभरि घरमा बस्ने, मोबाइल फोन, ल्यापटप चलाउने र सुत्ने हो । साथी या कोही नयाँ मान्छेहरुसँग भेट्ने वा घुमफिर गर्ने आइडियाले पनि मलाई थकाई लाग्छ । सामाजिक कार्यक्रममा त बाध्यताले जाने हो ।
हामी जेन जी विश्व संस्कृति, अर्थतन्त्र, राजनीति, भूगोल, हावापानी, खानपिनको विषयमा धेरै नै जानकार छौँ । तर, हाम्रो अघिल्लो पुस्ताले यो कुरा कहिल्यै स्वीकार्नु हुँदैन । मेरै घरमा पनि मैले काम गर्न थालेदेखि मात्र मेरो ओपिनियनलाई अलिअलि स्पेस दिन थाल्नुभएको छ । नत्र त, यस्तो होइन है भन्दा भन्दै घरपरिवारले बिचैमा कुरा काटिदिनुहुन्थ्यो । सबैकुरा थाहा हुँदा हुँदै पनि हाम्रो कुरालाई वेवास्ता गर्नु हामी जेन जी’हरुको मुख्य समस्या हो ।
हामी जेन जी र हाम्रा मिलेनियल अभिभावक बीच अहिले ठूलो ग्याप छ । झनै अस्तिको जेन जी आन्दोलनपछि त हामी धेरै जना आफ्नै घरमा बिद्रोही जस्ता बनेका छौँ ।
नेपाली जेन जी टेलिभिजन र इन्टरनेटसँगै हुर्कियो । बाहिरी देशको कल्चर, त्यहाँको बिकास र रहनसहन बारे यहाँका जेन जी अवेर छन् । हामी जेन जी’हरु सोसियल मिडियाबाट ‘फेड अप’ छौँ । बाहिरी देशको चिटिक्क परेको जीवनशैली र हाम्रो नेपालको वास्तविक यथार्थबारे हामी बिस्तारै परिचित हुँदै गयौँ । नेपालको राजनीतिक अस्थिरता, ढलेको अर्थतन्त्र, कुप्रथा, भ्रष्टाचार आदिबाट हामी जेन जी आतङ्कित छौँ । म आँफै पनि एउटा मिडियाकर्मीका रुपमा काम गर्दै गर्दा नेपालको हरेक क्षेत्रमा कामचलाउ सिस्टम देखेर दिक्क छु ।
हामी नेपालका जेन जी’हरुले बाहिरी विकसित मुलुकका जेन जीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । तर, हाम्रो पछाडि हाम्रो देश बिस्तारै लथालिङ्ग हुँदै छ या हाम्रो देश लथालिङ्ग भएको भाष्य निर्माण गरिएको छ । यस्तो अवस्थामा हामीले बाहिरि मुलुकका जेन जीहरुसंग आफूलाई तुलना गर्ने अनि हाम्रो देश कम विकसित भएकै कारण हाम्रो क्षमता पनि कम भएको भनी देशलाई नै अपजस दिने गरेका छौँ । जेहोस हामी युवा वर्ग देशको स्थितिबाट सन्तुष्ट छैनौँ ।
मेरो सन्दर्भमा म अरु जेन–जी भन्दा अलिक फरक छु । मलाई लाग्छ म बिस्तारै एवनर्मल जेन जी बन्दै गएको छु । अन्य जेन जी’को तुलनामा म देशको स्थितिबाट कम असन्तुष्ट छु । नेपाल अमेरिका हुने होइन, नेपाल नेपाल नै हुनुपर्छ भन्ने पक्षको जेन जी हुँ म । सायद यो मेरो व्यवसायिक जीवनको प्रभाव पनि हो । म असामाजिक भएँ भन्दै दुई वर्षअघि मेरो घरपरिवारले मलाई केही गर्न प्रोत्साहन गर्नुभएको थियो । त्यसैको फलस्वरुप आज म मिडियाकर्मीको रुपमा स्थापित भएको छु । आफूभन्दा दोब्बर उमेरका व्यक्तित्वहरुसँग काम गर्दै जाँदा म जेन जी र मेरा अन्य जेन जी साथीहरुको बिचारमा ठूलो ग्याप छ ।
मेरा अरु जेनजी साथीहरु देश त सक्कियो भन्छन्, मलाई भने मेरो पेशाले त्यसो भन्न दिँदैन । मेरा जेन जी साथीहरुलाई स्थानीय तह संचालन प्रक्रिया, प्रदेश तह, संघीय तह केही थाहा छैन । उनीहरु राजनीति भन्ने बित्तिकै भ्रष्टचार बुझछन् । सरकारी कार्यालय भन्ने बित्तिकै तनाव बुझ्छन् अनि म मिडियाकर्मी भन्ने बित्तिकै सेटिङ्ग हुने पेशा बुझ्छन् । दुईवर्ष अघिसम्म मेरो बुझाई पनि यही थियो । सरकार र सरकारी निकायप्रति मेरो दृष्टिकोण नेगेटिभ थियो । तर, बिस्तारै त्यही निकायमा कार्यरत व्यक्तिहरुसँग काम गर्दै जाँदा मेरो दृष्टिकोण परिवर्तन भयो । नेपालमा बेथिति छ, तर यहाँ आफ्नोपन पनि छ, मौलिकता पनि छ ।
देशलाई समृद्ध बनाउन एउटा कार्यालयको कार्यालय सहयोगीदेखि त्यहाँका अन्य कर्मचारी, हाकिम, सिडियो, राजनीतिक दल, मन्त्री मण्डल, व्यवसायी, शिक्षक, विद्यार्थी, नागरिक समाज सबैजना लाग्नु पर्छ । नेता, कर्मचारीले भ्रष्टाचार गर्छन् । त्यो भ्रष्टाचारलाई इन्टरटेन गर्ने पनि हामी जेन–जी नागरिक नै हौँ । हाम्रो अधिकारको कुरा गर्दै गर्दा आफ्नो दायित्व के हो भन्नेबारे हामी सचेत छैनौँ । चुनावका बेला साथीभाईको होहल्लामा लागेर राजनीतिक दलको सिद्धान्त नबुझी झण्डा हल्लाउँदै हिँड्ने हामी जेन–जी’हरु नै हौँ । देश समृद्ध बनाउने हामी युवाहरुले नै हो तर कक्षा १२ सकिँदा नसकिँदै विदेश जाने अनि देशमा केही छैन भन्ने पनि हामी जेन जी नै हौँ ।
हामी जेन जी’को नखरा नै धेरै छ । हामीलाई देशको संविधान बुझ्नु छैन्, देश संचालन हुने पद्धति बुझ्नु छैन् । हामी सकारात्मक भन्दा नकारात्मक पक्षतिर धेरै गाइडेड भैरहेका छौँ ।
हामी जेन–जी हौँ । हाम्रो भिजन ठूलो छ । विश्व बुझेका हामीहरुलाई देश कस्तो हुनुपर्छ भन्ने राम्रोसँग थाहा छ । सिस्टम कस्तो हुनुपर्छ राम्रोसँग थाहा छ । तर कसरी ? त्यो भने थाहा छैन । देश कस्तो हुनु पर्छ भन्ने हामी जेन–जी’को भिजन अघिल्लो पुस्ताले बुझ्दैनन् । अघिल्लो पुस्ताको ज्ञान, अनुभावले नै देश विकास गर्न सम्भव हुन्छ भन्ने कुरा हामी जेन–जी मान्न तयार छैनौँ ।
अहिले हाम्रो समाज र समग्र राष्ट्रमा जेन जी, मिलेनियल(जेन वाई) र त्यो भन्दा अघिल्लो पुस्ताबीच आन्तरिक द्वन्द्व चलेको छ । हामी तीनै पुस्ता एक अर्काको अस्तित्व स्वीकार गर्न असमर्थ छौँ । जेन जी मिलेनियललाई आउटडेटेट जेनेरेशनका रुपमा हेर्दछ । मिलेनियल जेन जी’लाई गम्भीर रुपमा लिन चाहन्न । एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हामी सबैजनाको मुख्य कमजोरी हो ।
यदि देश साँच्चै समृद्ध बनाउने हो भने हामी जेन–जी, मिलेनियल र त्योभन्दा अघिल्लो पुस्ताले एक अर्कालाई स्वीकार्नु पर्छ । हामीले एकअर्काको बिचारलाई मनन गरेर अघि बढे मात्र हाम्रो देश सिस्टम्याटिक हुन सक्छ भन्ने बारे सचेत जेन जी हुँ म ।




