
गोरखाका नेवार समुदायले जूनमा मकै सुकाएर सकिमना पर्व मनाए
नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व बिहिबार राती सम्पन्न भएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा बिहिबार साँझ मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
कात्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाइएको उनले बताए ।
श्रेष्ठका अनुसार यो पर्व बिगत ४० बर्ष अघिदेखि गोरखामा पहिलो पटक मनाइएको हो । ‘४० बर्षदेखि मनाउन छाडिएको पर्व अहिले व्युँताइएको हो’, उनले भने, ‘अब निरन्तरता दिने हाम्रो प्रयास हुनेछ ।’
घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर सदरमुकामको ठुलो आँगनमा मान्द्रो बिछ्याएर जुनको प्रकाश पर्ने गरी सुकाइएको थियो ।
‘कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’ स्थानीय मोहनलाल श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादको रुपमा प्रयोग गरिन्छ ।’ भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ । सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन् । घरमा भएका यी खानेकुरा पनि अमृत समान हुन्छ भन्ने विश्वास छ ।
मकै सुकाउन सबैले घरघरबाट ल्याउनुपर्छ भन्ने अनिवार्य छैन । तर नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठूलो आगन क्षेत्रका अधिकांशले लगेका थिए । कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन् ।
लामो समय पछि २०७६ सालमा ठुलो आगनमा मकै सुकाउने पर्व मनाइएको थियो । २०७७ मा कोरोनाको कारण यो पर्व नेवार समुदायले सामुहिक रुपमा मनाएनन् । ‘अहिले हामीले सामुहिक रुपमा आह्वान गरेर मनाएका हौँ’, ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने । समितिको अगुवाईमा बाजागाजा सहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो । भजन, पञ्चेबाजा, धिमे बाजाको साथमा ठुलो आगनमा बिहिवार मकै सुकाइयो ।




