
एकै पटक गोरखाको चार पालिकाका प्रशासकीय प्रमुख सरुवा
गोरखाको चारवटा स्थानीयको तहको प्रमुख प्रशासकीय अधिकृत एकै पटक सरुवा भएका छन् ।
गण्डकी, धार्चे, बारपाक सुलिकोट र गोरखाको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङको त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल सरुवा भएपछि त्यहाँ जितबहादुर भण्डारी आएका छन् ।
यस्तै बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी रोल्पाको सुनिलस्मृति गाउँपालिका सरुवा भएको छ । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नयाँ आएका छैनन् ।
धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीको दूखपोखरी गाउँपालिका लमजुङ सरुवा भएको छ । उनको सट्टामा पनि अहिलेसम्म पदपूर्ति भएको छैन ।
सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपानेको रसुवाको उत्तरगया गाउँपालिका सरुवा भएको छ । उनी गएपछिको रिक्त स्थानमा पनि प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म नआएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
यी गाउँपालिका अधिकांशमा पाँचदेखि छपटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । कोही बढुवा भएर त कोही जनप्रतिनिधि सँगको ‘टसल’का कारण वा साविकमा भन्दा अन्यत्र राम्रो ठाउँ, सहर केन्द्रीत हुने मौकाका कारण जाने गरेका छन् ।
रिक्त तीनवटा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत खोजिरेहका छन् । अन्य पालिकाका प्रशासकीय अधिकृत पनि सरुवाको चर्चा छ । कतिपय पालिकाका जनप्रतिनिधिले भने नयाँ आउने प्रशासकीय अधिकृत पाउन मुस्किल भएकाले भईरहेकालाई जान दिएका छैनन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पालिकामा काम गर्न आउने प्रशासकीय अधिकृतहरुको रुचि कम रहेको कर्मचारीहरु बताउँछन् ।




