
गोरखाको ग्रामिण सडक हिलाम्य, सर्वसाधारणको सकसको यात्रा
वर्षातका कारण यात्रुले सोमवार र मंगलवार अन्य दिन भन्दा थप सास्ती खेप्नुपरेको छ । वर्षातले ग्रामीण सडक हिलाम्य छ भने गाडीको पर्खाईमा झरीमा रुझ्दै बस्नुपरेको गुनासो यात्रुको छ । गोरखाको ढुङ्गागाढेदेखि अस्पतालमार्ग सम्मको सडक हिलाम्य छ ।
पैदल हिड्ने ठाउँ समेत छैन । ‘मोटरसाईकलमा आउँदा पुरै शरीर हिलो छ्यापेको जस्तो भएको छ’, बुङ्कोटदेखि गोरखा सदरमुकाम मोटरसाईकलमा आउँदै गरेको राजेश श्रेष्ठले भने । ठुला बस, मालवाहक सावरी साधन भेट भयो भने झनै हिलाम्य हुने उनले बताए । मंगलवार बिहान ढुङ्गागाढेमा यात्रुबाहक बस हिलोमा फस्दा केहीबेर सडक अवरुद्ध भएको थियो ।
उक्त सडक भएर पैदलयात्रु पनि आउजाउ गरिरहन्छन् । सवारी साधनको चाप अत्याधिक भएकाले हिलोबाटोमा पैदल हिड्न झनै समस्या भएको गुनासो स्थानीयको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माणमा हेलचेक्र्याइँ गरेको छ ।

गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेशाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन् । ग्रामिण भेगको मूख्य ब्यापारीक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा सवारी साधन आउजाउ बाक्लो हुन्छ । चार दशमलव ६ किलोमिटर सडक दुई वर्ष भित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो । सडकमा अहिले काम गर्ने मान्छे देखिँदैनन् ।
गोरखा सदरमुकाम भएर नारेश्वर जाने सडकको हबिगत पनि उस्तै छ । पूर्वाधार कार्यालय गोरखाले २०७६ फागुन १४ गते रौताहापि.के/गोरखा जेभिलाई दुई वर्षमा निर्माण सक्ने गरि २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।१० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्कि नाली सहित प्रिमिक्स कार्पेट प्रविधि बाट कालोपत्रे गर्ने सम्झौता भएको हो । उक्त सडक खण्ड पनि हिलाम्य छ ।
‘दुई वर्ष भयो सडकको बेहाल छ’ नारेश्वरका बाबुराम बस्नेतले भने ‘दिनदिनै हिलोमा सवारी साधन लड्छ । सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र होईन, गाडी आएको देखेपछि सडक छाडेर पैदलयात्रीलाई भाग्नुपर्ने अवस्था रहेको उनले बताए । हिलाम्य सडकमा जोगिएर हिड्न सर्वसाधारणलाई मुस्किल छ ।

चाडबाडका बेला सरमुकाम भएर अन्य जाने सडक हिलाम्य हुँदा जेष्ठ नागरिक र बालवालिकाहरु झनै समस्या परेका छन् । ग्रामिण भेगबाट सोझै काठमाण्डौँ जाने गाडी पनि खचाखच छ । कतिपयले गाडी नपाउँदा महँगो भाडा तिरेर रिजर्भ गर्नुपरेको बताएका छन् ।
ट्राफिक प्रहरीले भने बढी भाडा लिएमा तत्काल खबर गर्न र ती सवारी साधनलाई कारवाही हुने जनाएको छ । ट्राफिक अशोक बिष्टले भिडभाड बढेसँगै निग्रानी बढाइएको बताए । ‘सवारी साधनको चाप पनि अत्याधिक बढेको छ’ उनले भने ।




