
बैशाख ११ र १२ मा गोरखामा ठाडोभाखा प्रतियोगिता हुने
आउँदो बैशाख ११ र १२ गते गोरखामा ठाडोभाखा प्रतियोगिता हुने भएको छ । ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा प्रतियोगिता हुने सो समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी दिए ।
प्रतियोगितामा गोरखा, लम्जुङ, तनहूँ र कास्कीका ठाडोभाखाका कलाकारहरु सहभागी हुने अपेक्षा लिइएको गुरुङले जानकारी दिए । ‘करिब २० टिम सहभागी हुने अपेक्षा लिएका छौं’, उनले भने, ‘दुईबर्षअघि सिरानचोकमा आयोजना भएको ठाडोभाखा प्रतियोगितामा लम्जुङबाट मात्र १७ टिमको सहभागिता रहेको थियो । व्यक्तिगत तवरले आयोजना गर्दा त त्यति टिम सहभागी भएका थिए भने अहिले त संस्थागत रुपमा आयोजना गर्दा धेरै टिम सहभागी हुनेछन्, तर २० टिम भन्दा धेरै भए भने राम्रोसंग व्यबस्थापन गर्न पनि गाह्रो हुनेछ ।’
गोरखा र लम्जुङका विशेषगरी गुरुङ बस्तीमा प्रचलित ठाडो भाखा समयक्रमसंगै विस्तारै लोप हुँदै गएकाले त्यसलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले संस्था गठन गरी प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । गोरखाको सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट र धार्चेमा ठाडोभाका अत्यन्तै लोकप्रिय र प्रचलित छ । गुरुङको उद्गम स्थल लम्जुङका विभिन्न गाउँबस्तीमा पनि यो गीत लोकप्रिय छ ।
ठाडोभाकाका सम्राट लम्जुङ दुराडाँडाका भेँडीखर्के साहिँलाको निधन भएको ४५ दिनको स्मृति दिवसमा गोरखाका तीन टिम ठाडोभाकाका कलाकारहरु दुराडाँडा पुगेर ठाडोभाका गीत गाएर सम्मान गरेको थियो । आउँदा दिनहरुमा पनि संस्थाले ठाडोभाकाका पुराना कलाकारहरुलाई सम्मान गर्ने तथा नयाँ कलाकारहरुलाई ठाडोभाका गाउन प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।




