
‘कमाउँदै सिक्दै’ कार्यक्रमको भविष्य उज्वल
शिक्षाको परम्परागत परिभाषा र अभ्यासमा आधारभूत परिवर्तन आएको छ । विद्यार्थीहरूलाई कक्षाकोठाको चारभित्ताभित्र सीमित राखेर पाठ्यपुस्तकका पाना रटाउने र परीक्षाको अंकमा मात्र सीमित गर्ने मान्यता अब पुरानो र अपर्याप्त सावित भइसकेको छ । आधुनिक शिक्षाशास्त्रले स्पष्ट रूपमा स्थापित गरेको सत्य के हो भने मानिसले सुनेर भन्दा देखेर र त्योभन्दा पनि बढी गरेर सिक्छ ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीप र श्रमसँग नजोड्दासम्म शिक्षा बेरोजगारी उत्पादन गर्ने कारखाना मात्र बन्ने जोखिम रहन्छ । यही यथार्थलाई आत्मसात् गर्दै नेपाल सरकारको शिक्षा विभागले बालबालिकालाई कर्मशील र कामयावी बनाउने उद्देश्यले अघि बढाएको नीति तथा स्थानीय तहका शिक्षा शाखाहरूमार्फत इच्छुक विद्यालयहरूमा लागू भइरहेको ‘कमाउँदै सिक्दै’ कार्यक्रम अत्यन्त सकारात्मक र दूरगामी महत्वको पहल हो ।
यसै अभियानको सार्थक रूप गोरखाका विभिन्न विद्यालयहरूमा देखिन थालेको छ । यहाँका धेरै विद्यालयले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी जीवनोपयोगी र आयआर्जनसँग जोडिएका सीप सिकाउन थालेका छन् । अधिकांश विद्यालयले कृषि तथा पशुपालनसम्बन्धी सीप र कतिपयले प्राविधिक सीप प्रदान गर्दै त्यसलाई व्यवहारमा उतार्न र आफ्नै कमाइको माध्यम बनाउन विद्यार्थीहरूलाई प्रेरित गरिरहेका छन् ।
यस सन्दर्भमा अजिरकोट गाउँपालिका–३, काफलडाँडास्थित जीवनज्योति माध्यमिक विद्यालयले गरेको अभ्यास अनुकरणीय छ । विद्यालयले ठूलो क्षेत्रफलमा धान खेती तथा मौसमअनुसारको तरकारी खेती गरेर विद्यार्थीलाई प्रत्यक्ष श्रम, उत्पादन र बजारीकरणको प्रक्रियामा सहभागी गराएको छ । यसरी काम सिक्दा विद्यार्थीहरूमा कामप्रतिको सम्मान, आत्मविश्वास र कमाइप्रति स्वाभाविक मोह जागृत हुन्छ ।
सानै उमेरमा गरिएको यस्तो व्यावहारिक अभ्यासले भविष्यमा उच्च शिक्षा वा रोजगारीका क्रममा आइपर्ने चुनौती सामना गर्न र स्वरोजगार बन्न बलियो जग बसालिदिन्छ । श्रमलाई हेलाँ गर्ने सामाजिक मानसिकता बदल्न पनि यस्ता कार्यक्रम कोशेढुङ्गा सावित हुन सक्छन् ।
‘कमाउँदै सिक्दै’ कार्यक्रम केवल अतिरिक्त क्रियाकलाप मात्र होइन, यो त स्वावलम्बी, कर्मठ र आत्मनिर्भर नागरिक निर्माण गर्ने अभियान हो । यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नु आजको आवश्यकता र सुखद भविष्यको आधार हो ।




