| शुक्रबार, मंसिर ४, २०८३

अरु कार्यालयहरुले पनि सहायता कक्षा सञ्चालन गरुन्

जिल्ला प्रशासन कार्यालय गोरखाले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिने उद्देश्यले कार्यालयभित्र सहायता कक्ष स्थापना गरेको छ । विभिन्न सरकारी कामकाज लिएर प्रशासन कार्यालयमा आएका सेवाग्राहीहरुमा अलमल नहोवस् भन्ने हेतुले सहायता कक्ष सञ्चालन गरिएको हो ।

अभ्यस्तबाहेकलाई विभिन्न कार्यालयको प्रशासनिक प्रक्रिया जानकारी हुँदैन । सोही प्रक्रिया सहज बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले सहायता कक्षा सञ्चालन गरेको हो ।

प्रशासन कार्यालयमा जिल्लाभरका बालबालिका, बृद्धबृद्धा, अपाङ्गता भएका, सामान्य लेखपढ गर्न नसक्ने, एकल तथा असहाय महिला जस्ता सबै खाले सेवाग्राहीहरु आउँछन् । सामान्य प्रशासनिक प्रक्रिया नबुझ्दा उनीहरु कुन कामका लागि कहाँ जाने र के कागजात चाहिने जस्ता ज्ञानसमेत हुँदैन । त्यसैले सेवाग्राहीहरुले धेरै दुख पाउँछन् । त्यसो समस्याका गुजुल्टो फुकाउन भनेर प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरेको हो ।

सो सहायता कक्षमा परामर्श सेवा र निशुल्क फोटोकपी तथा स्क्यानिङ सेवा दिइन्छ । यस्तै, सहायता कक्षमार्फत टिकट बिक्री सेवा र प्रशासनिक प्रक्रिया बारे जानकारी समेत दिइने गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम सम्बन्धित फाँटहरुबाटै भरिदिने सेवा समेत सुरु गरेको छ । कार्यालयले एकद्वार प्रणाली लागु गरेर सेवा दिइरहेको छ ।

अलमलमा परेपछि कतिपय सेवाग्राहीले बिचौलियाको प्रयोग गर्ने, पसलहरुबाट सेवा लिँदा महंगो शुल्क तिर्नुपर्ने जस्ता समस्यामा पर्ने गरेका थिए । सोही समस्या समाधानका लागि कार्यालयले सहायता कक्ष सञ्चालन गरेको हो ।

कार्यालयहरुका नेतृत्वका रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले यस्तो सहायता कक्ष स्थापना गरेपछि अब मालपोत, नापी, अदालत जस्ता सेवाग्राहीहरु धेरै आउने अरु कार्यालयहरुले पनि सहायता कक्षा चलाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्