| आइतवार, मंसिर ६, २०८३

बूढीगण्डकी बाढी पीडितलाई मुटु फाउन्डेसनको सहयोग

बूढीगण्डकी बाढीबाट प्रभावित भएकाहरुलाई मुटु फाउन्डेसन नेपालले राहत सामाग्री सहयोग गरेको छ । गत असोज २५ गते बूढीगण्डकीमा आएको बाढीका कारण प्रभावित धार्चे गाउँपालिकाका बासिन्दालाई मुटु फाउन्डेसनले राहत सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

मुटु फाउन्डेसनले मनोज एसोसियसन फ्रान्स र सोलु चाइल्ड फ्रान्सको आर्थिक सहयोगमा बाढी पीडित धार्चे गाउँपालिका वडा नं १, ३ र ५ का बासिन्दाहरुलाई राहत सामाग्री वितरण गरेको गुरुङले जानकारी दिए । ‘बाढी प्रभावित क्षेत्र धार्चे गाउँपालिका वडा नं १ को दोभान, यारु बगर, पुक्चेत र स्याउली डाँडा, वडा नं. ३ को खोर्लाबेसी, तातोपानी र ओडार तथा वडा नं. ५ को माछिखोला लगायतका क्षेत्रहरूमा आवश्यक राहत सामाग्री वितरण गरेका छौँ’, उनले भने ।

आफूहरुले धार्चे गाउँपालिकासँगको समन्वयमा बाढी प्रभावित क्षेत्रहरुमा ५५ थान कम्बल, एकसय दुईथान ज्याकेट र धार्चे–२ कोरौजाको स्वास्थ्य चौकीमा एउटा कपडा धुने मेसिन सहयोग गरेको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ बताउँछन् । विकटका स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन आउने महिलाहरूले प्रयोग गरेका कपडा धुन सहज होस् भन्ने उद्देश्यले उक्त कपडा धुने मेसिन सहयोग गरेको उनको भनाई छ ।

मुटु फाउन्डेसन, मनोज एसोसियसन फ्रान्स र सोलु चाइल्ड फ्रान्सले धार्चेको बाढी पीडितहरुका लागि तीनलाख ६० हजार बराबरको राहत सामाग्री वितरण गरेको छ । मुटु फाउन्डेसनका अध्यक्ष गुरुङसहित संस्थाका सदस्यहरु ईजाबेल, थेरेजान र ईमिलीले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेको धार्चे गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्