| आइतवार, अशोज १०, २०८३

सेनाद्धारा एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन

रिपुमर्दन गणले एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । बिहीबार गोरखा नगरपालिका–६ दरबारमार्ग स्थीत महेन्द्र ज्योती माविमा उक्त तालिम संचालन भएको हो ।
विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयहरु गरी करिब ३५० जनाको सहभागितामा तालिम सम्पन्न भएको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताए । तालिममा भत्केका संरचनाहरुबाट खोज तथा उद्धार कार्य, बाढी पहिरो रोकथाम तथा उद्धार, आगलागि नियन्त्रणका उपायहरु, घाइतेहरुको प्राथमिक उपचार लगायतका विषयहरुमा डेमोस्ट्रेशन सहित अभ्यास कक्षाहरु संचालन गरिएको उनले जानकारी दिए ।
सेनाले प्रत्येक वर्ष प्राकृतिक विपदहरुका कारण हुने विभिन्न घटना तथा क्षतिको न्युनिकरण गर्न सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गर्दै आईरहेको छ । सोही कार्यक्रम अन्तरगत जिल्लाको विपद तयारी तथा प्रतिकार्य योजनामा आधारित रहेर उक्त नमुना अभ्यास संचालन गराइएको रिपुमर्दन गणले जनाएको छ ।
गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सुरक्षा निकायका पदाधिकारीहरु लगायतको उपस्थीतिका तालिम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्