
स्ट्रबेरी खेती गर्दै त्रिवेणी माविका विद्यार्थी
पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माविका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी विद्यालयले स्ट्रबेरी खेती गर्न थालेको हो ।
विद्यालयको कक्षा ९ देखि १२ सम्म कृषि धारमा अध्ययनरत विद्यार्थीहरुले एक रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गरेका प्रधानाध्यापक गणेशराज सेडाईले बताए । ‘हामीले कृषि धारका विद्यार्थीहरुका लागि १० रोपनी खेत र ८ रोपनी पाखो बारी भाडामा लिएर धान, मकै लगायतका बालीहरुसँगै विभिन्न बेमौसमी तरकारीहरु उत्पादन गर्ने गरेका छौँ’, उनले भने, ‘सोही अन्तरगत यो वर्ष केही नयाँ गरौँ भनेर स्ट्रबेरी खेती सुरु गरेका हौँ ।’ स्ट्रबेरीको फल महङ्गो र नयाँ पनि भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले बताएका छन् ।
‘सुरुको वर्ष भएकाले यसपालि करिब एक रोपनी क्षेत्रफलमा ६ सय विरुवा लगाएका छौँ । उत्पादन राम्रो भए यसलाई बढाउँदै जान्छौँ’, उनले भने । उत्पादन राम्रो भए आम्दानीको केही प्रतिशत विद्यार्थीहरुलाई पनि दिने उनले बताएका छन् ।
यसअघिदेखि उनीहरुले सिजनअनुसार धान, आलु, काउलीलगायतका खेती गर्दै आएका छन् ।




