| सोमवार, अशोज ११, २०८३

सातकन्या माविका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण

धार्चे गाउँपालिका–३ खोर्लास्थित सातकन्या माविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर गत शुक्रबार विद्यालयमा अध्ययनरत १७२ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।

संस्थाले हरेक वर्षझैँ यो वर्ष पनि विद्यार्थीहरुसँग भेटघाट गरी जाडोबाट बचाउन कोसेली स्वरुप स्वीटर वितरण गरेको सातकन्या मावि खोर्लाकी प्रध्यानध्यापक सीता गुरुङले बताइन् । गणेश हिमाल एशोसिएनले लेजामी दि लाप्राकसँगको समन्वयमा हरेक वर्ष दसैँको समय मिलाएर धार्चेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुसँग भेटघाट गर्ने र सहयोग गर्ने गरेको उनले जानकारी दिइन् ।

‘उहाँहरु हरेक वर्ष दशैँको समयमा आएर विद्यालयहरुको अनुगमन गर्नुहुन्छ’, उनले भनिन्, ‘सँगै विद्यार्थीहरुका लागि केही न केही कोसेली ल्याउनु हुन्छ । गत वर्ष सबै विद्यार्थीहरुका लागि झोला ल्याउनु भएको थियो । यो वर्ष भने स्वीटर वितरण गर्नुभएको छ ।’ लेजामी दि लाप्राकले सातकन्या माविमा भूकम्प अघि १२ कोठे र भुकम्पपछि पुन ९ कोठे भवन निर्माण गरिदिएको उनको भनाइ छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सूर्य बहादुर गुरुङ, लेजामी दि लाप्राककी उपाध्यक्ष सेल्भी डुबो, गाइड दलबहादुर गुरुङ, आर बहादुर गुरुङ, शिक्षक, अभिभावक लगायतको उपस्थितिमा स्वीटर वितरण गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्