
शिक्षा र स्वास्थ्य क्षेत्र प्रवद्र्धनमा गोरखा नगरपालिकाको सह्रानीय काम
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि गोरखा नगरपालिकाले उत्कृष्ट कामको थालनी गरेको छ । एउटा यस्तो काम, जसले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको विकास हुनेछ ।आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्ने अभिभावकलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने पालिकाले निर्णय गरेको छ । निर्णय यही शैक्षिकसत्रदेखि लागु हुनेछ ।
यसबारेमा शिक्षकहरुले भर्ना अभियानका क्रममा अभिभावकहरुलाई जानकारी गराउनेछन् । साथै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने फाराम भरेसंगै शिक्षकहरुले स्वास्थ्य विमाको फाराम पनि भरिदिनेछन् ।यस कामका लागि गोरखा नगरपालिकाले यसबर्ष १० लाख रुपैयाँ बिनियोजन गरेको छ । यदि सामुदायिक विद्यालयमा भर्ना हुने दर अनपेक्षित रुपमा बढेको खण्डमा रकम बढाउन सक्ने पालिकाले जनाएको छ ।
यो निर्णय हालका लागि कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकका लागि लागु हुनेछ । आगामि बर्ष अन्य कक्षामा भर्ना हुनेका लागि पनि यो सुविधा लागु हुनेछ । नत्र अहिले कक्षा १ मा बालबालिका भर्ना गर्नेवित्तिकै नगरपालिकाले उनीहरुको स्वास्थ्य बीमाको फाराम भर्नेछन् र स्वास्थ्य बीमालाई तिर्नुपर्ने तीनहजार पाँचसय रुपैयाँ तत्काल उपलब्ध गराउनेछ ।
सामुदायिक विद्यालयमा सन्तान भर्ना गर्ने भनेको आर्थिक आय तुलनात्मक रुपमा कमजोर हुनेहरुले हो ।
यदि सरकारले नागरिकलाई शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउने हो भने लक्षित समुदाय छान्न नगरपालिकाको यो विधि धेरै वैज्ञानिक छ । यसले एक तीरले दुई निशाना लगाउँछ । अर्थात आयआर्जन ज्यादै कमजोर भएकाहरुलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा दिने यो निकै उपयुक्त विधि हो । यो निर्णयले गोरखा नगरपालिकाको साख बढाउनेछ । साथै नगरबासीका लागि पालिका सरकारको बलियो उपस्थित दर्शाउँछ ।




